1सङ्गीत निर्देशकको निम्ति, तारवाद्यमा आधारित, दावीदको मस्किल—जब जीपीहरू शाऊलकहाँ गएर भनेका थिए, “के दावीद हामीहरूका माझमा लुकेका छैनन् र?” हे परमेश्वर, तपाईंको नामद्वारा मलाई बचाउनुहोस्; तपाईंको शक्तिद्वारा मलाई निर्दोष साबित गर्नुहोस्!
2हे परमेश्वर, मेरो प्रार्थना सुन्नुहोस्; मेरा मुखका शब्दहरू सुनिदिनुहोस्!
3मलाई परदेशीहरूले आक्रमण गर्छन्; मलाई निर्दयी मानिसहरूले मार्न खोज्छन्— ती मानिसहरूले परमेश्वरको श्रद्धा गर्दैनन्। सेला
4हेर, परमेश्वर मेरा सहायक हुनुहुन्छ; प्रभुले नै मलाई सहारा दिनुहुन्छ।
5मेरा विरोधीहरूका खराबी तिनीहरूमाथि नै फर्किऊन्; तपाईंको विश्वसनीयतामा तिनीहरूलाई सर्वनाश गर्नुहोस्!
6म तपाईंलाई स्वेच्छाबलि चढाउनेछु; हे याहवेह, तपाईंको नामको प्रशंसा म गर्नेछु; किनकि त्यो असल कुरा हो।
7तपाईंले मलाई मेरा सबै सङ्कष्टहरूबाट छुटाउनुभएको छ; र मेरा आँखाहरूले मेरा वैरीहरूमाथि मेरो विजयी देख्दछु।