1एज्रीका एतानको मस्किल। म याहवेहको अचुक प्रेमको प्रशंसा सदासर्वदा गाउनेछु; म मेरो मुखले पुस्तौँ-पुस्तालाई तपाईंको विश्वासयोग्यता बताइरहनेछु।
2तपाईंको अचुक प्रेम सदाको निम्ति दृढ रहिरहनेछ; स्वर्गमा पनि तपाईंले आफ्नो विश्वासयोग्यता स्थापित गर्नुभएको छ भनी म घोषणा गर्नेछु।
3तपाईंले भन्नुभयो, “मैले आफ्नो चुनेको मानिससित करार बाँधेको छु; मैले आफ्नो सेवक दावीदसित यो शपथ खाएको छु,
4‘म तेरो वंशलाई सदाको निम्ति स्थापित गर्नेछु, र पुस्तौँ-पुस्तासम्म म तेरो सिंहासन स्थिर बनाउनेछु।’ ” सेला
5हे याहवेह, स्वर्गले तपाईंको अद्भुत कार्यहरूको प्रशंसा गर्दछ, पवित्र जनहरूको सभामा तपाईंको विश्वासयोग्यताको पनि गुणगान हुँदछ।
6किनकि सारा ब्रह्माण्डमा नै याहवेहको तुलना कोसँग गर्न सकिन्छ र? स्वर्गीय प्राणीहरूमध्ये को याहवेहको समान छन् र?
7पवित्र जनहरूको सभाघरमा परमेश्वर अधिक श्रद्धायोग्य हुनुहुन्छ; उहाँको वरिपरि हुनेहरूमध्ये, उहाँ अति भययोग्य हुनुहुन्छ।
8हे सेनाहरूका याहवेह परमेश्वर, तपाईंजस्तो अरू को छ र? तपाईं शक्तिशाली हुनुहुन्छ, हे याहवेह, तपाईंको विश्वासयोग्यता तपाईंको वरिपरि छ।
9उर्लंदो समुद्रमाथि तपाईंले नै राज्य गर्नुहुन्छ; त्यसका छालहरू उर्लंदा, तपाईंले नै तिनलाई शान्त गराउनुहुन्छ।
10तपाईंले मारिएकाहरूलाई झैँ राहाबलाई नष्ट पार्नुभयो; तपाईंले आफ्ना शत्रुहरूलाई आफ्ना पाखुराले तितरबितर पार्नुभयो।
11स्वर्गहरू तपाईंको हो, र पृथ्वी पनि तपाईंकै हो; संसार र त्यसमा भएका यावत् थोक तपाईंले नै स्थापित गर्नुभयो।
12उत्तर र दक्षिण तपाईंले नै सृष्टि गर्नुभएको हो; तबोर र हेर्मोन तपाईंको नाममा हर्षले गाउँछन्।
13तपाईंको पाखुरा शक्तिशाली छ; तपाईंको हात बलियो छ, तपाईंको दाहिने हात उच्च छ।
14धार्मिकता र न्याय तपाईंको सिंहासनका जग हुन्; अचुक प्रेम र विश्वासयोग्यता तपाईंको अगि जान्छन्।
15हे याहवेह, ती मानिसहरू धन्य हुन्, जसले जयध्वनिसाथ तपाईंको प्रशंसा गर्न सिकेका छन्; जो तपाईंका प्रकाशको उपस्थितिमा हिँड्छन्।
16तिनीहरू दिनभरि तपाईंको नाममा रमाउँछन्; तिनीहरूले तपाईंको धार्मिकताको उत्सव मनाउँछन्।
17किनकि तपाईं नै तिनीहरूका महिमा र बल हुनुहुन्छ, र तपाईंकै निगाहले हाम्रो सिङ उच्च पारिदिनुभएको छ।
18वास्तवमा याहवेह नै हाम्रो ढाल हुनुहुन्छ; हाम्रा राजा इस्राएलका पवित्र परमेश्वर हुनुहुन्छ।
19तपाईंले एक पटक दर्शनमा बोल्नुभयो, आफ्ना विश्वासयोग्य जनहरूसित यसो भन्नुभयो: “मैले एक योद्धालाई बल प्रदान गरेको छु; मैले मानिसहरूबाट चुनिएको एक युवकलाई उच्च पारेको छु।
20मैले मेरो सेवक दावीदलाई भेट्टाएको छु; मैले आफ्नो पवित्र तेलले त्यसलाई अभिषेक गरेको छु।
21मेरो हातले त्यसलाई थाम्नेछ; निश्चय नै मेरो पाखुराले त्यसलाई बलियो बनाउनेछ।
22शत्रुले त्यसबाट तिरो असुल्ने छैन; कुनै दुष्ट मानिसले त्यसमाथि अत्याचार गर्नेछैन।
23त्यसका वैरीलाई म त्यसकै सामु चूर्ण पार्नेछु, अनि त्यसलाई घृणा गर्नेहरूलाई प्रहार गर्नेछु।
24मेरो विश्वासयोग्यता र अचुक प्रेम त्यससँग रहनेछ, र मेरो नामद्वारा त्यसको सिङ उच्च हुनेछ।
25म त्यसको हातलाई समुद्रमाथि, त्यसको दाहिने हातलाई नदीहरूमाथि स्थापित गराउनेछु।
26त्यसले मलाई यसो भनेर पुकार्नेछ, ‘तपाईं मेरा पिता, मेरा परमेश्वर, मेरो मुक्तिको चट्टान हुनुहुन्छ।’
27म त्यसलाई मेरो पहिले जन्मेको, जेठो छोरा हुन नियुक्त गर्नेछु, पृथ्वीका राजाहरूमा सबैभन्दा उच्च तुल्याउनेछु।
28म त्यसको निम्ति मेरो अचुक प्रेम सदासर्वदा कायम राख्नेछु, र त्यससँगको मेरो करार कहिल्यै विफल हुनेछैन।
29म त्यसको वंश सदाको निम्ति स्थापना गर्नेछु, आकाशको अस्तित्व रहेसम्म, त्यसको सिंहासन राख्नेछु।
30“त्यसका सन्तानले मेरो व्यवस्था त्यागे, र मेरा विधानहरू मानेनन् भने
31यदि तिनीहरूले मेरा उर्दीहरू भङ्ग गरे भने र मेरा आदेशहरू पालन गरेनन् भने,
32म तिनीहरूका पापको दण्ड छडीले, तिनीहरूका अधर्मको सजाय कोर्राले दिनेछु;
33तर म मेरो अचुक प्रेम त्यसबाट हटाउनेछैनँ, न त कहिल्यै म मेरो विश्वासयोग्यतालाई घात गर्नेछु।
34म मेरो करार भङ्ग गर्नेछैनँ, अथवा मेरो मुखले उच्चारण गरेका वचन बदल्नेछैनँ।
35मैले मेरो पवित्रताद्वारा एक पटक सधैँको निम्ति शपथ खाएको छु— र म दावीदलाई ढाँट्नेछैनँ।
36त्यसको वंश सदासर्वदाको निम्ति रहनेछ र त्यसको सिंहासन मेरो अगि सूर्यझैँ स्थिर रहनेछ;
37आकाशमा रहेको विश्वासयोग्य साक्षी चन्द्रमाझैँ, त्यो सदासर्वदाको लागि स्थापित रहनेछ।” सेला
38तर तपाईंले आफ्नो अभिषिक्त जनलाई त्याग्नुभएको छ, र तुच्छ ठान्नुभएको छ; तिनीसँग तपाईं क्रोधित हुनुभएको छ।
39तपाईंले आफ्नो सेवकसितको करार रद्द गर्नुभएको छ; तपाईंले तिनको मुकुट धुलोमा फ्याँकेर अशुद्ध पार्नुभएको छ।
40तपाईंले तिनका सबै सुरक्षित पर्खालहरू भत्काइदिनुभएको छ; र तिनका किल्लाहरू तहसनहस पारिदिनुभएको छ।
41त्यहाँबाट भएर जानेहरू सबैले तिनलाई लुटेका छन्; आफ्ना छिमेकीको निम्ति तिनी हेलाको पात्र भएका छन्।
42तिनका वैरीहरूका दाहिने हात तपाईंले उच्च पार्नुभएको छ; तपाईंले तिनका सबै शत्रुहरूलाई आनन्दित तुल्याउनुभएको छ।
43तपाईंले तिनको तरवारको धारलाई काम नलाग्ने बनाउनुभएको छ, र युद्धमा तिनलाई समर्थन गर्नुभएको छैन।
44तपाईंले तिनको वैभव समाप्त गरिदिनुभएको छ, र तिनको सिंहासन जमिनमा पल्टाइदिनुभएको छ।
45तिनको जवानीका दिन तपाईंले घटाइदिनुभएको छ; तपाईंले तिनलाई लाजको वस्त्रले ढाकिदिनुभएको छ। सेला
46हे याहवेह, कहिलेसम्म यस्तो गर्नुहुन्छ? के तपाईं आफूलाई सधैँभरिको निम्ति लुकाइराख्नुहुनेछ? कहिलेसम्म तपाईंको क्रोध आगोझैँ दन्किरहनेछ?
47स्मरण गर्नुहोस्; मेरो आयु कति क्षणिक छ। किनकि तपाईंले सम्पूर्ण मानवतालाई कस्तो निरर्थकताको निम्ति सृजनुभएको छ!
48यस्तो कुन मानिस होला, जो सधैँभरि बाँचिरहन्छ र मृत्यु देख्दैन, अथवा चिहानको शक्तिबाट को उम्कन सक्छ र? सेला
49हे प्रभु, तपाईंको अगिको अचुक प्रेम कहाँ छ? जसमा तपाईंले तपाईंको विश्वासयोग्यतामा दावीदसँग शपथ खानुभएको थियो?
50हे प्रभु, स्मरण गर्नुहोस्; तपाईंको सेवकको कसरी उपहास भएको छ, म आफ्नो हृदयमा कसरी सबै राष्ट्रहरूको हाँसो बोकेर हिँड्दछु,
51हे याहवेह, जसले मेरो उपहास गरेका छन्, ती तपाईंका शत्रुहरू हुन्, तिनीहरूले पाइला-पाइलामा कसरी तपाईंका अभिषिक्त जनको उपहास गरेका छन्।
52सदासर्वदा याहवेहको प्रशंसा होस्! आमेन! आमेन!