1एउटा गीत, कोरहका छोराहरूको भजन, सङ्गीत निर्देशकको निम्ति— महलत लिन्नोत लयमा आधारित, एज्रीका हेमानको मस्किल। हे याहवेह, तपाईं नै त्यो परमेश्वर हुनुहुन्छ, जसले मलाई बचाउनुहुन्छ; दिनरात म तपाईंलाई पुकार्दछु।
2मेरो प्रार्थना तपाईंको सामु पुगोस्; मेरो क्रन्दनतिर आफ्नो कान लगाउनुहोस्!
3किनकि मेरो प्राण पीडाले भरिएको छ र मेरो जीवन चिहानको नजिकै पुगेको छ।
4चिहानमा जानेहरूसँगै मेरो गणना भएको छ; म शक्तिविहीन मानिसझैँ भएको छु।
5म मरेकाहरूसितै छुट्ट्याइएको छु, मारिएका मानिसजस्तै, जो चिहानमा नै रहन्छन्, जसलाई तपाईं कहिल्यै सम्झनुहुन्न; जो तपाईंको वास्ताबाट त्यागिएका छन्।
6तपाईंले मलाई चिहानको तल्लो भागमा, अति अन्धकारमय गहिराइहरूमा फ्याँकिदिनुभएको छ।
7तपाईंको क्रोधले मलाई दबाएर राखेको छ; तपाईंका सबै छालहरूले मलाई व्याकुल पार्नुभएको छ। सेला
8मेरा अति नजिकका साथीहरूबाट तपाईंले मलाई अलग गर्नुभएको छ; तपाईंले मलाई तिनीहरूको लागि घृणित तुल्याउनुभएको छ। म पासोमा परेको छु, र म उम्कन सक्दिनँ;
9शोकले मेरा आँखाहरू धमिला हुन्छन्। हे याहवेह, म सारा दिन तपाईंलाई पुकार गर्दछु; म मेरा हात तपाईंतिर पसार्दछु।
10के मृतकहरूलाई तपाईं आफ्ना अद्भुत कार्यहरू देखाउनुहुन्छ? के मरेकाहरू जीवित भएर तपाईंको स्तुति गर्छन् र? सेला
11के तपाईंको अचुक प्रेम चिहानमा, तपाईंको विश्वसताको मृत-लोकमा घोषणा गरिन्छ?
12के तपाईंको अद्भुत कार्यहरू अन्धकारको स्थानमा, अथवा तपाईंको धार्मिकताका कामहरू स्मरण नहुने देशमा चिनिन्छन् र?
13हे याहवेह, तर म सहायताको निम्ति तपाईंमा पुकार गर्दछु; बिहानै मेरो प्रार्थना तपाईंको सामु आउँछ।
14हे याहवेह, तपाईं मलाई किन इन्कार गर्नुहुन्छ? अनि आफ्नो मुहार मबाट किन लुकाउनुहुन्छ?
15मेरो युवावस्थादेखि नै म सताइएको छु, र मर्न लागेको छु; तपाईंको त्रासबाट म पीडित छु, र म निराश भएको छु।
16तपाईंको क्रोध ममाथि खनिएको छ; तपाईंका त्रासहरूले मलाई नष्ट पारेका छन्।
17तिनीहरूले मलाई दिनभरि नै बाढीले झैँ घेर्छन्; तिनीहरूले मलाई पूर्ण रूपमा घेरेका छन्।
18तपाईंले मबाट मेरा मित्र र मेरा छिमेकीहरू हटाउनुभएको छ— अन्धकार मेरो नजिकको मित्र बनेको छ।