1सङ्गीत निर्देशकको निम्ति, दावीदको भजन। हे याहवेह, मैले तपाईंमा शरण लिएको छु; मलाई कहिल्यै पनि शर्ममा पर्न नदिनुहोस्। तपाईंको धार्मिकतामा मलाई छुटाउनुहोस्।
2मेरो पुकार सुन्न आफ्नो कान मतिर फर्काउनुहोस्; मेरो उद्धार गर्नलाई चाँडो आउनुहोस्; तपाईं मेरो शरण लिने चट्टान हुनुहोस्, मलाई बचाउने बलियो किल्ला तपाईं नै हुनुहोस्।
3तपाईं मेरो चट्टान र मेरो किल्ला हुनुभएकोले, तपाईंको नामको खातिर मलाई अगुवाइ गर्नुहोस् र डोर्याउनुहोस्।
4मेरो निम्ति गुप्तमा थापिएको पासोबाट मलाई छुटाउनुहोस्; किनकि तपाईं नै मेरो शरणस्थान हुनुहुन्छ।
5तपाईंकै हातमा मेरो आत्मा सुम्पन्छु; हे याहवेह, हे मेरा विश्वासयोग्य परमेश्वर, मेरो उद्धार गर्नुहोस्।
6व्यर्थका मूर्तिहरूमा मन लगाउनेहरूलाई म घृणा गर्दछु; तर मचाहिँ याहवेहमा नै भरोसा राख्दछु।
7म तपाईंको अचुक प्रेममा आनन्दित र हर्षित हुनेछु, किनकि तपाईंले मेरो पीडा देख्नुभयो, र मेरो प्राणको व्यथालाई जान्नुभएको छ।
8तपाईंले मलाई शत्रुका हातमा पर्न दिनुभएको छैन; तर तपाईंले मेरा पाउलाई फराकिलो ठाउँमा खडा गर्नुभएको छ।
9हे याहवेह, ममाथि कृपालु हुनुहोस्; किनकि म सङ्कष्टमा परेको छु; शोकले गर्दा मेरा आँखा कमजोर भएका छन्, अनि मेरो प्राण र मेरो शरीर शोकमा छन्।
10मेरो जीवन वेदनामा जलेको छ, र मेरो आयुचाहिँ सुस्केरामा बितेका छन्; मेरो अधर्मको कारणले मेरो बल घटेको छ, र मेरा हाडहरू कमजोर भइसकेका छन्।
11मेरा सारा शत्रुहरूका कारणले गर्दा, म मेरा छिमेकीहरूका निम्ति घृणाको पात्र बनेको छु, मेरा सबै हितैषी मित्रहरूका निम्ति म एक डरको कारण भएको छु, मलाई बाटोमा देख्नेहरू, मबाट टाढा भाग्दछन्।
12मरिसकेको मानिसलाई झैँ मलाई तिनीहरूले बिर्सेका छन्; म एक फुटेको भाँडाझैँ भएको छु।
13किनकि धेरैले मेरो विरुद्धमा कानेखुसी गरेको मैले सुनेको छु, “चारैपट्टि मेरो निम्ति खतरा मात्र छ।” तिनीहरूले मेरो विरुद्धमा जाल बनाउँदछन्, र मेरो प्राण लिनलाई तिनीहरू षड्यन्त्र रच्दछन्।
14तर हे याहवेह, म तपाईंमा नै भरोसा राख्छु; म भन्छु, “तपाईं नै मेरो परमेश्वर हुनुहुन्छ।”
15मेरा समयहरू तपाईंकै हातमा छन्; मलाई खेदो गर्ने, मेरा शत्रुहरूका हातबाट मलाई छुटाउनुहोस्!
16तपाईंको मुहार आफ्नो सेवकमाथि चम्काउनुहोस्; तपाईंको अचुक प्रेममा मलाई बचाउनुहोस्!
17हे याहवेह, मैले शर्माउन नपरोस्, किनकि मैले तपाईंलाई पुकारेको छु; तर दुष्टहरू शर्ममा परून्, र तिनीहरू पातालमा चुपचाप रहून्।
18तिनीहरूका झूटो बोल्ने ओठहरू चुप होऊन्, किनकि घमण्ड र अवहेलनासाथ, तिनीहरू धर्मीहरूका विरुद्धमा अहङ्कारी भई बोल्छन्।
19तपाईंका भलाइ कति प्रशस्त छन्, जसलाई तपाईंको भय मान्नेहरूका निम्ति तपाईंले भण्डार गर्नुभएको छ, तपाईंले सबै मानिसहरूका सामु तपाईंमा शरण पर्नेहरूलाई ती दिनुभएको छ।
20तपाईंको उपस्थितिको छहारीमा, तपाईंले तिनीहरूलाई मानिसहरूको षड्यन्त्रबाट लुकाउनुहुन्छ; तपाईंले तिनीहरूलाई दोष लगाउने जिब्राहरूबाट आफ्नो वासस्थानमा सुरक्षित राख्नुहुन्छ।
21याहवेहको प्रशंसा होस्; किनकि म शत्रुहरूको घेरामा परेको सहरभित्र हुँदा, उहाँले आफ्नो अद्भुत प्रेम ममाथि देखाउनुभयो।
22म आत्तिएको बेलामा मैले भनेँ, “तपाईंको दृष्टिबाट हराएको छु।” तर जब मैले तपाईंलाई गुहारको निम्ति पुकारेँ, तब तपाईंले मेरो दयाको पुकार सुनिदिनुभयो।
23हे सबै विश्वासयोग्यहरू हो, याहवेहलाई प्रेम गर। याहवेहले आफ्ना विश्वासयोग्यहरूलाई रक्षा गर्नुहुन्छ। तर अहङ्कारीहरूलाई चाहिँ उहाँले पूरा दण्ड दिनुहुन्छ।
24हे सबै याहवेहमा आशा राख्नेहरू हो, बलियो र साहसिलो होओ।