1याहवेहको प्रशंसा गर! म मेरो सारा हृदयले, धर्मी मानिसहरूको सभामा र समुदायमा म याहवेहलाई उच्च पार्नेछु।
2याहवेहका कार्यहरू महान् छन्; ती कार्यहरूमा प्रसन्न हुनेहरू सबैले तीमाथि मनन गर्छन्।
3उहाँका कार्य महिमामय र ऐश्वर्यपूर्ण छन्; र उहाँको धार्मिकता सदासर्वदा रहिरहन्छ।
4उहाँले आफ्ना अद्भुत कार्यहरूको स्मरण गराउनुभएको छ; याहवेह अनुग्रही र दयालु हुनुहुन्छ।
5उहाँको भय मान्नेहरूलाई उहाँले भोजन जुटाउनुहुन्छ; र उहाँ आफ्नो करार सदासर्वदा सम्झनुहुन्छ।
6अन्य राष्ट्रहरूको भूमि आफ्ना प्रजालाई दिएर, उहाँले तिनीहरूलाई आफ्ना कार्यको शक्ति प्रकट गर्नुभएको छ,
7उहाँका हातका कार्य विश्वासयोग्य र न्यायपूर्ण छन्; उहाँका सबै विधिहरू भरपर्दा छन्।
8ती सदासर्वदाको लागि अटल छन्, ती धार्मिकता र विश्वासयोग्यतामा लागू गरिएका छन्।
9उहाँले आफ्ना प्रजाको निम्ति छुटकारा उपलब्ध गराउनुभयो; उहाँले आफ्नो करार सदाकालको निम्ति स्थिर होस् भनी आज्ञा दिनुभयो— उहाँको नाम पवित्र र भययोग्य छ।
10याहवेहको भय नै बुद्धिको सुरुवात हो; उहाँका विधिहरू पालन गर्नेहरू सबैले ठिक समझशक्ति पाउँछन्। उहाँको प्रशंसा अनन्तसम्म भइरहनेछ।