1सङ्गीत निर्देशकको निम्ति, दावीदको भजन। हे याहवेह, तपाईंको सामर्थ्यमा राजा रमाउँछन्, तपाईंले दिनुभएको विजयमा उहाँ अति धेरै आनन्दित छन्।
2तपाईंले उनको हृदयका इच्छा पूरा गर्नुभएको छ, र उनको ओठको बिन्ती इन्कार गर्नुभएको छैन। सेला
3तपाईंले उनलाई उत्तम आशिष् लिएर स्वागत गर्नुभयो। तपाईंले उनको शिरमा निखुर सुनको मुकुट पहिर्याइदिनुभयो।
4उनले तपाईंबाट जीवन मागे, र तपाईंले उनलाई दिनुभयो अर्थात्, उनलाई सदाकालको निम्ति लामो आयु दिनुभएको छ।
5तपाईंले दिनुभएका विजयहरूद्वारा उनको आदर र महिमा बढेको छ; तपाईंले उनलाई वैभव र ऐश्वर्य प्रदान गरिदिनुभएको छ।
6निश्चय नै तपाईंले उनलाई अनन्त आशिष् प्रदान गर्नुभएको छ; र तपाईंको उपस्थितिको आनन्दले उनलाई हर्षित तुल्याउनुभएको छ;
7किनकि राजाले याहवेहमा भरोसा राख्दछन्; सर्वोच्च परमेश्वरको अचुक प्रेमको कारण उनी अटल रहनेछन्।
8तपाईंका बाहुलीले आफ्ना सारा शत्रुहरूलाई हराउनुहुन्छ; तपाईंको दाहिने बाहुलीले आफ्ना वैरीहरूलाई पक्रनुहुन्छ।
9जब तपाईं प्रकट हुनुहुनेछ, तपाईंले शत्रुहरूलाई दन्किरहेको आगोको भट्टीमाझैँ जलाउनुहुनेछ। याहवेहले आफ्नो क्रोधमा तिनीहरूलाई निल्नुहुनेछ, र उहाँको आगोले तिनीहरूलाई भस्म पारिदिनेछ।
10तपाईंले तिनीहरूका सन्ततिलाई पृथ्वीबाट र मानव-जातिको बीचबाट तिनीहरूका वंशलाई नष्ट पार्नुहुनेछ।
11तिनीहरूले तपाईंको विरुद्धमा दुष्ट युक्ति रचे, र दुष्ट योजना तयार गरे तापनि तिनीहरू सफल हुनेछैनन्।
12किनकि जब तपाईं आफ्नो धनुषले तिनीहरूमाथि निशाना ताक्नुहुन्छ, तपाईंले तिनीहरूलाई पिठिउँ फर्काएर भाग्न बाध्य बनाउनुहुनेछ।
13हे याहवेह, आफ्नो शक्तिमा उच्च हुनुहोस्; हामी तपाईंको सामर्थ्यको बारेमा गाउने र प्रशंसा गर्नेछौँ।