1आरोहणको गीत। म मेरा आँखाहरू पर्वतहरूतिर उचाल्छु— मेरो सहायता कहाँबाट आउँछ?
2मेरो सहायता याहवेहबाट आउँछ, जो स्वर्ग र पृथ्वीका सृष्टिकर्ता हुनुहुन्छ।
3उहाँले तिम्रा खुट्टाहरू चिप्लन दिनुहुनेछैन— तिम्रो रक्षा गर्नुहुने कहिल्यै उँघ्नुहुनेछैन;
4साँच्चै, इस्राएललाई रक्षा गर्नुहुनेचाहिँ न उँघ्नुहुन्छ, न त निदाउनुहुन्छ।
5याहवेहले नै तिमीलाई रक्षा गर्नुहुनेछ— याहवेह नै तिम्रो दाहिने हातपट्टिको तिम्रो छहारी हुनुहुन्छ;
6दिउँसोको घामले तिमीलाई पोल्नेछैन, न त राति चन्द्रमाले तिमीलाई हानि गर्नेछ।
7याहवेहले तिमीलाई सबै हानिबाट जोगाउनुहुनेछ— उहाँले तिम्रो जीवनको रक्षा गर्नुहुनेछ;
8तिमी बाहिर जाँदा र भित्र आउँदा, अहिले अनि सदासर्वदा, याहवेहले तिम्रो रक्षा गर्नुहुनेछ।