1म याहवेहलाई प्रेम गर्दछु; किनकि उहाँले मेरो सोर सुन्नुभयो; उहाँले मेरो दयाको पुकार सुन्नुभयो।
2किनकि उहाँले आफ्नो कान मतिर फर्काउनुभयो, म जीवित रहुन्जेल उहाँमा पुकार गर्नेछु।
3मृत्युका पासोहरूले मलाई घेरेका थिए; र चिहानको पीडा ममाथि आइलागेको थियो; दुःख र शोकले मलाई गाँजेको थियो।
4तब मैले याहवेहको नाममा पुकार गरेँ: “हे याहवेह, मलाई बचाउनुहोस्!”
5याहवेह अनुग्रही र धार्मिक हुनुहुन्छ; हाम्रा परमेश्वर कृपाले पूर्ण हुनुहुन्छ।
6याहवेहले सोझाहरूलाई रक्षा गर्नुहुन्छ; जब म अति असहाय थिएँ, तब उहाँले मलाई बचाउनुभयो।
7हे मेरो प्राण, फेरि एक पटक विश्राम गर्; किनकि याहवेह तँप्रति भलो हुनुभएको छ।
8किनकि हे याहवेह, तपाईंले मलाई मृत्युदेखि, मेरा आँखालाई आँसुदेखि, र मेरा गोडालाई ठेस लाग्नदेखि जोगाउनुभएको छ।
9ताकि म जीवितहरूका देशमा, याहवेहको सामु हिँड्डुल गर्न सकूँ।
10मैले याहवेहमा विश्वास गरेँ, यसकारण मैले भनेँ, “म धेरै पीडित छु।”
11अनि आफ्नो व्याकुलतामा मैले भनेँ, “हरेक मानिस झूटो हो।”
12याहवेहले मप्रति गर्नुभएका सम्पूर्ण भलाइको साटोमा, म उहाँलाई के फिर्ता दिन सक्छु र?
13म मुक्तिको कचौरा उठाउनेछु र याहवेहको नाममा पुकार गर्नेछु।
14याहवेहलाई गरेका मेरो भाकलहरू, म उहाँका सारा प्रजाको सामु पूरा गर्नेछु।
15याहवेहको नजरमा, उहाँका विश्वासयोग्य जनहरूको मृत्यु अनमोल छ।
16हे याहवेह, साँच्चै नै म तपाईंको सेवक हुँ; म तपाईंकी सेविकाको छोरो, तपाईंको सेवक हुँ; तपाईंले मलाई मेरो बन्धनबाट छुटाउनुभएको छ।
17म तपाईंलाई धन्यवादको बलि चढाउनेछु, र याहवेहको नाममा पुकार गर्नेछु।
18याहवेहलाई गरेका मेरा भाकलहरू, म उहाँका सारा प्रजाको सामु पूरा गर्नेछु;
19याहवेहको भवनको चोकहरूमा, हे यरूशलेम, तेरो बीचमा म त्यो पूरा गर्नेछु। याहवेहको प्रशंसा गर!