1सङ्गीत निर्देशकको निम्ति, “लिली फूल” को रागमा आधारित, दावीदको भजन। हे परमेश्वर, मलाई बचाउनुहोस्; किनकि पानी मेरो घाँटीसम्म आइसकेको छ।
2म गहिरो दलदलमा डुब्दैछु, जहाँ उभिने ठाउँ नै छैन। म गहिरो पानीमा डुबेको छु; बाढीहरू ममाथि उर्लन्छन्।
3सहायताको लागि पुकार गर्दा-गर्दा म थाकिसकेको छु; मेरो घाँटी सुकेको छ। मेरा परमेश्वरको खोजी गर्दा-गर्दा मेरा आँखाहरू कमजोर भएका छन्।
4कारणविना मलाई घृणा गर्नेहरू मेरो टाउकोका केशभन्दा धेरै छन्; कारणविना मेरा शत्रुहरू धेरै छन्, जसले मलाई मार्न खोजिहिँड्छन्। जुन कुरा मैले चोरेकै छैनँ, मलाई त्यसको भरपाई गर्न बाध्य तुल्याइएको छु।
5हे परमेश्वर, तपाईं मेरो मूर्खता जान्नुहुन्छ; मेरा दोषहरू तपाईंबाट लुकेका छैनन्।
6हे प्रभु, सेनाहरूका याहवेह, तपाईंमा आशा राख्नेहरू मेरो कारणले शर्ममा नपरून्; हे इस्राएलका परमेश्वर, तपाईंलाई खोज्नेहरू मेरो कारणले लाजमा नपरून्।
7किनकि तपाईंको खातिर मैले तिरस्कार सहेको छु; मेरो अनुहार लाजले ढाकेको छ।
8मेरा आफन्तका बीचमा म विदेशी भएको छु, मेरा साक्खै दाजुभाइ-दिदीबहिनीहरूका बीच म बिरानो भएको छु;
9किनकि तपाईंको घरप्रतिको जोशले मलाई खाएको छ, र तपाईंलाई अपमान गर्नेहरूको अपमान ममाथि आइपरेको छ।
10जब म रुन्छु, र उपवास बस्छु, मैले अपमान सहनैपर्छ;
11जब म भाङ्ग्रा लगाउँछु, मानिसहरू मेरो हाँसो गर्दछन्।
12सहरको मूलढोकामा बस्ने मानिसहरूले मेरो ठट्टा उडाउँछन्; अनि म मतवालाहरूको गीत बनेको छु।
13तर हे याहवेह, तपाईंको ग्रहणयोग्य समयमा, म तपाईंलाई प्रार्थना गर्दछु; हे परमेश्वर, तपाईंको अचुक प्रेममा, तपाईंको निश्चित छुटकाराले मलाई उत्तर दिनुहोस्।
14मलाई दलदले हिलोबाट बचाउनुहोस्! मलाई डुब्न नदिनुहोस्, घृणा गर्नेहरूबाट, गहिरो पानीबाट मलाई बचाउनुहोस्!
15मलाई पानीको बाढीले नछोपोस् वा पानीको गहिराइले मलाई ननिलोस्, वा चिहानको मुख ममाथि बन्द नहोस्!
16हे याहवेह, तपाईंको अचुक प्रेमको उत्तमतामा मलाई जवाफ दिनुहोस्; तपाईंको महान् कृपामा मतिर फर्कनुहोस्।
17तपाईंको सेवकबाट आफ्नो मुहार नलुकाउनुहोस्; मलाई चाँडै जवाफ दिनुहोस्, किनकि म सङ्कटमा परेको छु।
18मेरो नजिक आएर मेरो उद्धार गर्नुहोस्; मेरा शत्रुहरूका कारण मलाई छुटाउनुहोस्!
19म अपमानित भएको, म शर्ममा परेको, र मेरो बेइज्जत भएको तपाईंलाई थाहा छ; मेरा सबै शत्रुहरू तपाईंकै सामु छन्।
20अपमानले गर्दा मेरो मन टुटेको छ; र म निरीह भएको छु; मलाई सहानुभूति देखाउने कोही छन् कि भनेर खोजी गरेँ, तर कोही थिएनन्; र सान्त्वना दिनेहरू पनि खोजेँ, तर कोही भेटिनँ।
21मेरो खानामा तिनीहरूले पित्त हाले, म तिर्खाउँदा सिर्का पिउन दिए।
22तिनीहरूका अगि राखिएको भोजन तिनीहरूका निम्ति पासो बनोस्; र तिनीहरूका समृद्धि नै तिनीहरूको पासो बनोस्!
23तिनीहरूका आँखाहरू अँध्यारा होऊन्, र तिनीहरूले नदेखून्; तिनीहरूका ढाड सदा कुप्रिरहून्!
24तपाईंको क्रोध तिनीहरूमाथि खन्याउनुहोस्; तपाईंको रिसको आगो तिनीहरूमाथि आइपरोस्!
25तिनीहरूको स्थान उजाड भइजाओस्; तिनीहरूका पालहरूमा बास गर्ने कोही नहोस्।
26किनकि तपाईंले ताडना दिनु भएकाहरूलाई तिनीहरूले सताउँछन्, र तपाईंले घाइते पार्नुभएकाहरूका बारेमा तिनीहरूले कुरा काट्छन्।
27तपाईंले तिनीहरूको अपराधमाथि अपराधको हिसाब राख्नुहोस्; र तिनीहरू तपाईंको मुक्तिमा सहभागी हुन नपाऊन्।
28जीवनको पुस्तकबाट तिनीहरूका नाम मेटिओस्, र धर्मी जनहरूसँग तिनीहरू गन्ती नहोऊन्।
29तर म त दुःखित र पीडित छु— हे परमेश्वर, तपाईंको मुक्तिले मलाई सुरक्षा गरोस्!
30गीत गाएर म परमेश्वरको नामको प्रशंसा गर्नेछु, र धन्यवादसाथ उहाँलाई महिमा गर्नेछु।
31यस कुराले याहवेहलाई साँढेको बलिभन्दा बढी सिङ र खुर भएको बहरको बलिले भन्दा बढी प्रसन्न पार्नेछ।
32थिचोमिचोमा परेकाहरू यो कुरा देखेर रमाउनेछन्— हे परमेश्वरलाई खोज्नेहरू हो, तिमीहरूको हृदय नयाँ जोसले भरियोस्।
33याहवेहले अभावमा परेकाहरूको पुकार सुन्नुहुन्छ, र बन्धनमा परेका आफ्ना मानिसहरूलाई अवहेलना गर्नुहुन्न।
34स्वर्ग, पृथ्वी, समुद्र र तिनमा हिँड्डुल गर्ने सारा सृष्टिले परमेश्वरको प्रशंसा गरून्!
35किनकि परमेश्वरले सियोनलाई बचाउनुहुनेछ, र यहूदाका सहरहरूलाई पुनर्निर्माण गर्नुहुनेछ। तब उहाँका मानिसहरू त्यहाँ बस्नेछन्, र त्यसमाथि कब्जा गर्नेछन्;
36उहाँका सेवकहरूका सन्तानहरू त्यहाँ उत्तराधिकार हुनेछन्; अनि उहाँको नामलाई प्रेम गर्नेहरू त्यहाँ बास गर्नेछन्।