1सङ्गीत निर्देशकको निम्ति, “विनाश नहोस्” रागमा आधारित, दावीदको मिक्ताम। हे शासकहरू हो, के तिमीहरू न्यायपूर्वक बोल्दछौ? के तिमीहरू मानिसहरूलाई समान रूपमा न्याय गर्छौ?
2होइन, तिमीहरू हृदयमा अन्याय रच्दछौ; र पृथ्वीमा तिमीहरूका आफ्ना हातले हिंसाका काम गर्छन्।
3दुष्ट मानिसहरू जन्मैदेखि भड्केर जान्छन्; तिनीहरू गर्भदेखि नै पथभ्रष्ट हुन्छन्, झूटो फैलाउँछन्।
4तिनीहरूको विष विषालु सर्पको विषजस्तै छ; तिनीहरू गोमन सर्पजस्तै छन्, जसले आफ्नो कान बन्द गरेको छ,
5सपेराको सङ्गीतको धुन होस्, या जतिसुकै निपुण जादुगरको जादु होस्, तिनको सोर सुनिँदैन।
6हे परमेश्वर, तिनीहरूका दाँत तिनीहरूकै मुखमा तोडिदिनुहोस्; हे याहवेह, ती सिंहहरूका बङ्गाराहरू भाँचिदिनुहोस्!
7बग्ने पानीजस्तै तिनीहरू विलाइजाऊन्; जब तिनीहरूले धनुमा ताँदो चढाउँछन्, तब तिनीहरूका काँडहरू निशानासम्म नपुगून्।
8चिप्ले किराजस्तै तिनीहरू हिँड्दा-हिँड्दै पग्लेर जाऊन्; जन्मिनै नपाई तुहेको बालकजस्तै तिनीहरूले सूर्यको उज्यालो कहिल्यै नदेखून्।
9तिम्रा भाँडाहरू काँडाको आगोमा तात्तिन अगि, ती हरिया हुन् वा सुकेका, दुष्टहरू बगाएर लगिनेछन्।
10जब पापीहरूमाथि बदला खनिन्छ, जब धर्मी जनहरूको पाउहरू दुष्टहरूको रगतमा चोबिन्छन्, तब धर्मी जनहरू हर्षित हुनेछन्।
11तब मानिसहरूले भन्नेछन्, “निश्चय नै धर्मी जनहरू पुरस्कृत हुन्छन्; साँच्चै नै परमेश्वर हुनुहुन्छ, जसले पृथ्वीको न्याय गर्नुहुन्छ।”