1तिनीहरू धन्यका हुन्, जो निर्दोष जीवन जिउँछन्, जो याहवेहका व्यवस्थाअनुसार हिँड्छन्।
2तिनीहरू धन्यका हुन्, जसले उहाँका कानुनहरू पालन गर्दछन्, र आफ्ना सारा हृदयले उहाँलाई खोज्दछन्।
3तिनीहरूले केही खराबी गर्दैनन्; तर उहाँका मार्गलाई पछ्याउँछन्।
4तपाईंका विधिहरू होशियारपूर्वक पालन गरौँ भनी तपाईंले हामीलाई आज्ञा दिनुभयो।
5अहो, तपाईंका उर्दीहरू पालन गर्नलाई, मेरा मार्गहरू दृढ भइदिए कति असल हुनेथियो!
6तब तपाईंका सम्पूर्ण आज्ञाहरू पालन गरेर म शर्ममा पर्नेथिइनँ।
7जब म तपाईंका धार्मिक नियमहरू सिक्दछु, तब म साँचो हृदयले तपाईंको प्रशंसा गर्नेछु।
8म तपाईंका उर्दीहरू पालन गर्नेछु; मलाई कहिल्यै नत्याग्नुहोस्!
9जवान मानिसले आफ्नो चालचलन कसरी पवित्र राख्न सक्छ? तपाईंको वचनअनुसार जीवन बिताएर नै हो।
10मेरो सारा हृदयले तपाईंलाई खोज्दछु; तपाईंका आज्ञाहरूबाट मलाई तर्केर जान नदिनुहोस्!
11तपाईंको विरुद्धमा पाप नगरूँ भनेर, तपाईंको वचनलाई मैले मेरो हृदयमा लुकाइराखेको छु।
12हे याहवेह, तपाईंको प्रशंसा होस्; तपाईंका उर्दीहरू मलाई सिकाउनुहोस्!
13तपाईंका मुखबाट निस्केका सम्पूर्ण नियमहरू मैले मेरा ओठले वर्णन गरेको छु।
14कसैले धेरै धनसम्पत्तिमा आनन्द गरेझैँ, म तपाईंका कानुनहरू पालन गर्नमा नै आनन्दित हुन्छु।
15म तपाईंका विधिहरूमा मनन गर्छु, र तपाईंका मार्गहरूमा ध्यान दिन्छु।
16म तपाईंका उर्दीहरूमा रमाउनेछु; म तपाईंको वचन बिर्सनेछैनँ।
17आफ्नो सेवकलाई दया गर्नुहोस्; ताकि म जीवित रहन सकूँ र तपाईंको वचन पालन गर्न सकूँ।
18मेरा आँखाहरू खोलिदिनुहोस्, ताकि म तपाईंको व्यवस्थाबाट उदेकका कुराहरू देख्न सकूँ।
19यस पृथ्वीमा म एउटा परदेशी हुँ; तपाईंका आज्ञाहरू मबाट नलुकाउनुहोस्!
20हरपल तपाईंका नियमहरू जान्ने तिर्सनाले मेरो प्राण छटपटिन्छ।
21ती अहङ्कारीहरू, जो श्रापित छन्; र तपाईंका आज्ञाहरूबाट भड्किएर हिँड्छन्; तिनीहरूलाई तपाईंले हप्काउनुहुन्छ।
22मबाट तिनीहरूका गिल्ला र तिरस्कार हटाउनुहोस्; किनकि म तपाईंका कानुनहरू पालन गर्दछु।
23शासकहरू एकसाथ बसेर मेरो विरुद्धमा जाल रचे तापनि तपाईंको सेवकले तपाईंकै उर्दीहरूमा ध्यान दिनेछ।
24तपाईंका कानुनहरू मेरा आनन्द हुन्; ती मेरा सल्लाहकारहरू हुन्।
25म धुलोमा लम्पसार परेको छु; आफ्नो वचनअनुसार मेरो जीवनको रक्षा गर्नुहोस्!
26मैले मेरा चालचलनहरू बताएँ, र तपाईंले मलाई जवाफ दिनुभयो; मलाई तपाईंका उर्दीहरू सिकाउनुहोस्!
27मलाई तपाईंका विधिहरूका अर्थ बुझ्ने बनाउनुहोस्; ताकि म तपाईंका अचम्मका कामहरूमा ध्यान दिन सकूँ।
28शोकले गर्दा मेरो प्राण थाकेको छ; आफ्नो वचनद्वारा मलाई बलियो पार्नुहोस्!
29मलाई छलपूर्ण मार्गबाट जोगाउनुहोस्; ममाथि अनुग्रही बन्नुहोस् र मलाई तपाईंको व्यवस्था सिकाउनुहोस्!
30मैले विश्वासयोग्यताको मार्ग छानेको छु; मैले मेरो हृदय तपाईंका नियमहरूमा लगाएको छु।
31हे याहवेह, म तपाईंका कानुनहरूमा दृढ छु; मलाई शर्ममा पर्न नदिनुहोस्!
32म तपाईंका आज्ञाहरूका मार्गमा दगुर्छु; किनकि तपाईंले मेरो समझलाई फराकिलो तुल्याउनुभएको छ।
33हे याहवेह, मलाई तपाईंका उर्दीहरू पालन गर्न सिकाउनुहोस्; ताकि म अन्त्यसम्मै ती पालन गर्न सकूँ।
34मलाई समझशक्ति दिनुहोस्, र म तपाईंको व्यवस्था पालन गर्न सकूँ, र सम्पूर्ण हृदयले म त्यसको पालन गर्न सकूँ।
35मलाई तपाईंका आज्ञाहरूका मार्गमा डोर्याउनुहोस्; किनकि म त्यसैमा प्रसन्न हुन्छु।
36मेरो हृदय तपाईंका कानुनहरूतर्फ फर्काइदिनुहोस्! स्वार्थी लाभतर्फ होइन।
37व्यर्थका कुराहरू हेर्नदेखि मेरा आँखाहरू फर्काइदिनुहोस्; तपाईंको वचनअनुसार मेरो जीवनको रक्षा गर्नुहोस्!
38आफ्ना सेवकलाई गर्नुभएको प्रतिज्ञा पूरा गर्नुहोस्; ताकि तपाईंको भय रहोस्!
39जुन अपमानको मलाई डर छ, त्यो हटाउनुहोस्; किनकि तपाईंका नियमहरू असल छन्!
40हेर्नुहोस्, म तपाईंका विधिहरूको कति अभिलाषी छु! तपाईंको धार्मिकतामा मेरो जीवनको रक्षा गर्नुहोस्!
41हे याहवेह, मलाई तपाईंका अचुक प्रेम मिलोस्, र तपाईंको प्रतिज्ञाअनुसार तपाईंको मुक्ति मकहाँ आओस्!
42तब मलाई गिल्ला गर्नेहरूलाई म जवाफ दिन सकूँ; किनकि म तपाईंको वचनमा भरोसा राख्दछु।
43तपाईंको सत्य वचन मेरा मुखबाट कहिल्यै नखोसिदिनुहोस्; किनकि मैले तपाईंका नियमहरूमा आफ्नो आशा राखेको छु।
44म तपाईंको व्यवस्था निरन्तर, सदासर्वदा पालन गर्नेछु।
45म स्वतन्त्र भएर हिँड्डुल गर्नेछु; किनकि मैले तपाईंका विधिहरूको खोजी गरेको छु।
46म तपाईंका कानुनहरूका विषयमा राजाहरूका सामु बोल्नेछु, र म लाजमा पर्नेछैनँ।
47किनकि म तपाईंका आज्ञाहरूमा रमाउँछु; किनकि म तिनलाई प्रेम गर्दछु।
48मैले प्रेम गरेका तपाईंका आज्ञाहरूतर्फ मेरा आफ्ना हातहरू उचाल्छु; ताकि म तपाईंका उर्दीहरूमाथि मनन गर्न सकूँ।
49तपाईंका सेवकलाई दिनुभएको वचन सम्झना गर्नुहोस्; किनकि तपाईंले मलाई आशा दिनुभएको छ।
50मेरो कष्टमा मेरो सान्त्वना यही छ: तपाईंका प्रतिज्ञाले मेरो जीवनको रक्षा गर्दछ।
51अहङ्कारीहरू निर्दयी भएर मेरो हाँसो गर्छन्; तर म तपाईंका व्यवस्थाबाट तर्केर जादिनँ।
52हे याहवेह, म तपाईंका प्राचीन कालदेखिका नियमहरू स्मरण गर्दछु, अनि म तिनमा सान्त्वना पाउँदछु।
53तपाईंको व्यवस्था त्याग्ने दुष्टहरूले गर्दा, मलाई असाध्यै रिस उठेको छ।
54म जहाँ बसोबास गरेँ तापनि तपाईंका उर्दीहरू मेरा गीतका विषयवस्तु भएका छन्।
55हे याहवेह, रातको समयमा म तपाईंको नामको स्मरण गर्दछु, ताकि म तपाईंको व्यवस्था पालन गर्न सकूँ।
56तपाईंका विधिहरू पालन गर्नु नै मेरो आचरण हुन गएको छ।
57हे याहवेह, तपाईं मेरो भाग हुनुहुन्छ; तपाईंका वचनहरू पालन गर्नेछु भनी मैले प्रतिज्ञा गरेको छु।
58मैले आफ्नो सारा हृदयले तपाईंको मुहारको खोजी गरेको छु; तपाईंको प्रतिज्ञाअनुसार ममाथि अनुग्रही बन्नुहोस्!
59मैले आफ्ना आचरणहरूको बारेमा विचार गरेँ, अनि आफ्ना कदमहरू तपाईंका कानुनहरूतर्फ चालेको छु।
60तपाईंका आज्ञाहरू पालन गर्न म हतारिनेछु, र ढिलो गर्नेछैनँ।
61दुष्टहरूले मलाई डोरीहरूले बाँधे तापनि म तपाईंका व्यवस्था बिर्सनेछैनँ।
62तपाईंका धार्मिक नियमहरूका निम्ति तपाईंलाई धन्यवाद चढाउन म मध्यरातमा उठ्दछु।
63म तपाईंको भय मान्नेहरू र तपाईंका विधिहरू पालन गर्नेहरू सबैको मित्र हुँ।
64हे याहवेह, पृथ्वी तपाईंको अचुक प्रेमले भरिपूर्ण छ; मलाई तपाईंका उर्दीहरू सिकाउनुहोस्!
65हे याहवेह, तपाईंले आफ्नो वचनअनुसार आफ्नो सेवकको भलाइ गर्नुहोस्।
66मलाई ज्ञान र बुद्धिका कुरा सिकाउनुहोस्; किनकि म तपाईंका आज्ञाहरूमाथि विश्वास गर्दछु।
67दुःख पाउनुअगि मैले बाटो बिराएको थिएँ, तर अब म तपाईंको वचन पालन गर्दछु।
68तपाईं भलो हुनुहुन्छ, र तपाईं जे गर्नुहुन्छ, भलो नै गर्नुहुन्छ; मलाई तपाईंका उर्दीहरू सिकाउनुहोस्!
69अहङ्कारीहरूका झूटले मलाई कलङ्कित पारे तापनि मेरो सारा हृदयले तपाईंका विधिहरू पालन गर्दछु।
70तिनीहरूका हृदय कठोर र निर्दयी भएका छन्, तर मचाहिँ तपाईंको व्यवस्थामा प्रसन्न हुन्छु।
71दुःख भोग्नु मेरा लागि असलै भयो, ताकि यसरी नै मैले तपाईंका उर्दीहरू सिक्न सकूँ।
72तपाईंको मुखबाट निस्केका व्यवस्था, मेरा निम्ति हजारौँ चाँदी र सुनका टुक्राहरूभन्दा ज्यादा मूल्यवान् छन्।
73तपाईंका हातहरूले मलाई बनाएका र आकार दिएका हुन्; तपाईंका आज्ञाहरू सिक्ने समझशक्ति मलाई दिनुहोस्।
74तपाईंको भय मान्नेहरू मलाई देखेर खुशी होऊन्; किनकि मैले मेरो आशा तपाईंको वचनमा राखेको छु।
75हे याहवेह, म जान्दछु, तपाईंका नियमहरू धार्मिक छन्, र आफ्नो विश्वसतामा तपाईंले मलाई ताडना दिनुभएको छ।
76आफ्नो सेवकलाई गर्नुभएको प्रतिज्ञाअनुसार तपाईंको अचुक प्रेम मेरो सान्त्वना बनोस्!
77तपाईंको कृपा ममाथि रहोस्, ताकि म जीवित रहन सकूँ; किनकि म तपाईंको व्यवस्थामा नै रमाउँदछु।
78कारणविना मलाई दोष लगाएका हुनाले अहङ्कारीहरू शर्ममा परून्; तर मचाहिँ तपाईंका विधिहरूमा मनन गर्नेछु।
79तपाईंको डर मान्नेहरू, र तपाईंका कानुन बुझ्नेहरू मतिर फर्कून्।
80मेरो निर्दोष हृदयले तपाईंका उर्दीहरू पालन गर्न सकूँ, ताकि म शर्ममा नपरूँ!
81मेरो प्राण तपाईंको मुक्ति प्राप्त गर्ने तिर्सनामा व्याकुल छ; तर मैले आफ्नो आशा तपाईंको वचनमा राखेको छु।
82तपाईंको प्रतिज्ञाको प्रतीक्षा गर्दागर्दै मेरा आँखाहरू धमिला भइसकेका छन्; म सोध्छु, “तपाईंले मलाई कहिले सान्त्वना दिनुहुन्छ?”
83म धुवाँमा राख्दा-राख्दै खुम्चिएको दाखमद्यको मशकझैँ भएँ; तापनि मैले तपाईंका उर्दीहरू बिर्सेको छैनँ।
84तपाईंको सेवकले कहिलेसम्म पर्खनुपर्छ? मलाई खेदो गर्नेहरूलाई कहिले दण्ड दिनुहुन्छ?
85तपाईंको व्यवस्थाको विरोध गर्ने अहङ्कारीहरूले मलाई पासोमा पार्न खाडल खनेका छन्।
86तपाईंका सारा आज्ञाहरू भरोसायोग्यका छन्; मलाई मदत गर्नुहोस्, म कारणविना सताइएको छु।
87तिनीहरूले झण्डै मलाई पृथ्वीबाट नाश गरे; तर मैले तपाईंका विधिहरू त्यागेको छैनँ।
88तपाईंको अचुक प्रेमअनुसार मेरो जीवनको रक्षा गर्नुहोस्; ताकि म तपाईंको मुखबाट निस्केका कानुनहरू पालन गर्न सकूँ।
89हे याहवेह, तपाईंको वचन अनन्त छ; यो स्वर्गमा सदैव दृढ रहन्छ।
90तपाईंको विश्वासयोग्यता पुस्तौँ-पुस्तासम्म रहिरहन्छ; तपाईंले नै पृथ्वीलाई स्थापित गर्नुभयो; अनि यो स्थिर रहन्छ।
91तपाईंका नियमहरू आजको दिनसम्म स्थिर छन्; किनकि सबै सृष्टिले तपाईंको सेवा गर्दछन्।
92तपाईंको व्यवस्थामा मेरो निम्ति आनन्द नहुँदो हो त म आफ्नो पीडामा नष्ट भइसकेको हुन्थेँ।
93तपाईंका विधिहरू म कहिल्यै बिर्सनेछैनँ; किनकि तीद्वारा नै तपाईंले मेरो जीवनको रक्षा गर्नुभएको छ।
94मलाई बचाउनुहोस्; किनकि म तपाईंकै हुँ; मैले तपाईंका विधिहरूको खोजी गरेको छु।
95दुष्टहरूले मलाई नाश गर्न ढुकेर बसेका छन्; तर मचाहिँ तपाईंका कानुनहरूमा ध्यान दिनेछु।
96हरेक सिद्धताको पनि सीमा भएको मैले देखेको छु; तर तपाईंका आज्ञाहरू असीमित छन्।
97अहो, तपाईंको व्यवस्थालाई म कति प्रेम गर्दछु! दिनभरि म त्यसमा नै ध्यान गर्दछु।
98तपाईंका आज्ञाहरू सधैँ मसँग छन्, र तिनले मेरा शत्रुहरूभन्दा मलाई बुद्धिमान् तुल्याउँछन्।
99मेरा सबै शिक्षकहरूभन्दा मेरो अन्तर्दृष्टि ज्यादा छ; किनकि म तपाईंका कानुनहरूमा मनन गर्दछु।
100सबै प्रधानहरूभन्दा मेरो समझशक्ति ज्यादा छ; किनकि म तपाईंका विधिहरू पालन गर्दछु।
101तपाईंको वचन पालन गर्न सकूँ भनेर मैले आफ्ना खुट्टाहरूलाई हरेक खराब मार्गदेखि अलग्गै राखेको छु।
102तपाईंका नियमहरूबाट म तर्केर हिँडेको छैनँ; किनकि तपाईं आफैँले नै मलाई सिकाउनुभएको छ।
103तपाईंका वचनहरू मेरो लागि कति स्वादिष्ठ छन्; मेरो मुखमा ती महभन्दा पनि बढी मिठा छन्!
104तपाईंका विधिहरूबाट म समझशक्ति प्राप्त गर्दछु; त्यसकारण म सबै खराब मार्गहरूलाई घृणा गर्दछु।
105तपाईंको वचन मेरा खुट्टाहरूका निम्ति बत्ती, र मेरो बाटोका निम्ति ज्योति हो।
106मैले शपथ खाएर त्यसलाई पक्का गरेको छु, ताकि म तपाईंका धार्मिक नियमहरू पालन गर्नेछु।
107मैले ज्यादै कष्ट भोगेको छु; हे याहवेह, आफ्ना वचनअनुसार मेरो जीवनको रक्षा गर्नुहोस्!
108हे याहवेह, स्वेच्छाले मैले आफ्नो मुखले चढाएको प्रशंसा ग्रहण गर्नुहोस्, र मलाई तपाईंका नियमहरू सिकाउनुहोस्!
109मेरो प्राण निरन्तर जोखिममा रहन्छ; तापनि म तपाईंको व्यवस्था बिर्संनेछैनँ।
110दुष्टहरूले मेरो निम्ति पासो थापेका छन्; तर पनि म तपाईंका विधिहरूबाट तर्केको छैनँ।
111तपाईंका कानुनहरू सदाकाल मेरा निम्ति उत्तराधिकारको अंश भएका छन्। त्यो नै मेरो हृदयको आनन्द हो।
112तपाईंका उर्दीहरू अन्त्यसम्म नै पालन गर्न मेरो हृदयले अठोट गरेको छ।
113दोहोरो मन भएका मानिसहरूलाई म घृणा गर्दछु; तर तपाईंको व्यवस्थालाई म प्रेम गर्दछु।
114तपाईं मेरो शरणस्थान र मेरो ढाल हुनुहुन्छ; तपाईंको वचनमा मैले आफ्नो आशा राखेको छु।
115हे दुष्कर्मीहरू हो, मबाट टाढा होइजाओ; ताकि म मेरा परमेश्वरका आज्ञाहरू पालन गर्न सकूँ!
116मेरा परमेश्वर, मलाई तपाईंको प्रतिज्ञाअनुसार थामिराख्नुहोस्, र म जीवित रहनेछु; अनि मेरो आशाहरू चकनाचुर हुन नदिनुहोस्!
117मलाई साथ दिनुहोस्, र मेरो उद्धार हुनेछ; म सधैँ तपाईंका उर्दीहरूमा अझ ध्यान दिनेछु।
118तपाईंका उर्दीहरूबाट तर्केर जानेहरूलाई तपाईंले इन्कार गर्नुहुन्छ; किनकि तिनीहरूको धूर्तता व्यर्थ हुन्छ।
119पृथ्वीका सबै दुष्टहरूलाई तपाईंले धातुको अशुद्धताझैँ फालिदिनुहुन्छ; यसैले म तपाईंका विधिहरूलाई प्रेम गर्दछु।
120तपाईंको भयले मेरो शरीर काम्दछ; म तपाईंका नियमहरूले भयभीत हुन्छु।
121जे धार्मिक र न्यायपूर्ण छ, मैले त्यही गरेको छु; मलाई अत्याचार गर्नेहरूका हातमा नछोडिदिनुहोस्!
122तपाईंको सेवकको भलाइ सुनिश्चित गरिदिनुहोस्; अहङ्कारीहरूले मलाई अत्याचार गर्न नपाऊन्!
123तपाईंको मुक्ति र तपाईंको धार्मिक प्रतिज्ञाको प्रतीक्षा गर्दागर्दै मेरा आँखाहरू धमिला भइसकेका छन्।
124आफ्नो अचुक प्रेमअनुसार आफ्ना सेवकसँग व्यवहार गर्नुहोस्, अनि मलाई तपाईंका उर्दीहरू सिकाउनुहोस्!
125म तपाईंको सेवक हुँ; मलाई अन्तर्दृष्टि दिनुहोस्, ताकि म तपाईंका कानुनहरू बुझ्न सकूँ!
126हे याहवेह, अब तपाईंले काम गर्ने समय आएको छ; तपाईंको व्यवस्था भङ्ग भएको छ।
127किनकि मैले तपाईंका आज्ञाहरूलाई सुन, र निखुर सुनभन्दा पनि बढी प्रेम गर्दछु,
128किनकि म तपाईंका सम्पूर्ण विधिहरू उचित ठान्दछु; अनि हरेक खराब मार्गलाई म घृणा गर्दछु।
129तपाईंका कानुनहरू अद्भुत छन्; त्यसैले तिनलाई म पालन गर्छु।
130तपाईंका वचनहरूको अर्थ खोलिँदा ज्योति चम्कन्छ; त्यसले सोझाहरूलाई समझशक्ति दिन्छ।
131म तपाईंका आज्ञाहरूका तिर्सनाले आफ्नो मुख खोल्छु, र सुस्केरा हाल्दछु।
132तपाईंको नामलाई प्रेम गर्नेहरूलाई तपाईंले सदा गरेझैँ, मतिर फर्कनुहोस् र ममाथि दया गर्नुहोस्!
133तपाईंको वचनअनुसार मेरा पाइलाहरूलाई डोर्याउनुहोस्; र कुनै पापले ममाथि राज्य नगरोस्!
134मानिसका अत्याचारबाट मलाई मोल तिरेर छुटाउनुहोस्, ताकि म तपाईंका विधिहरू पालन गर्न सकूँ।
135तपाईंको सेवकमाथि आफ्नो मुहार चम्काउनुहोस्; र तपाईंका उर्दीहरू मलाई सिकाउनुहोस्!
136मेरा आँखाहरूबाट आँसुका धारा बग्छन्; किनकि तपाईंको व्यवस्था पालन गरिएको छैन।
137हे याहवेह, तपाईं धर्मी हुनुहुन्छ, अनि तपाईंका नियमहरू सही छन्।
138तपाईंले स्थापित गर्नुभएका कानुनहरू धार्मिक छन्; तिनीहरू पूर्ण रूपले भरपर्दा छन्।
139मेरो जोशले मलाई खाइसकेको छ; किनकि मेरा शत्रुहरूले तपाईंका वचनहरू वास्ता गर्दैनन्।
140तपाईंका प्रतिज्ञाहरू सम्पूर्ण रूपले जाँच गरिएका छन्; र तपाईंको सेवकले तिनलाई प्रेम गर्दछ।
141म क्षुद्र र तुच्छ छु; तापनि म तपाईंका विधिहरू बिर्संदिनँ।
142तपाईंको धार्मिकता अनन्तकाल छ; अनि तपाईंको व्यवस्था सत्य छ।
143ममाथि दुःख र कष्ट आइलागेका छन्; तर तपाईंका आज्ञाहरूले मलाई हर्षित बनाउँछन्।
144तपाईंका कानुनहरू सदा धार्मिक छन्; मलाई समझशक्ति दिनुहोस्, ताकि म जीवित रहन सकूँ।
145हे याहवेह, मेरो सारा हृदयले तपाईंलाई पुकार्छु; मलाई जवाफ दिनुहोस्; र म तपाईंका उर्दीहरू पालन गर्नेछु।
146म तपाईंलाई पुकार्छु; मलाई बचाउनुहोस्, अनि म तपाईंका कानुनहरू पालन गर्नेछु।
147म सूर्योदय हुन अगि नै उठेर सहयोगको लागि पुकार्छु; मैले तपाईंको वचनमाथि आशा राखेको छु।
148तपाईंका प्रतिज्ञाहरूमा मनन गरूँ भनेर मेरा आँखाहरू रातका पहरहरूमा खुल्ला रहन्छन्।
149तपाईंको अचुक प्रेमअनुसार मेरो सोर सुन्नुहोस्; हे याहवेह, तपाईंका नियमअनुसार मेरो जीवनको रक्षा गर्नुहोस्!
150दुष्ट योजना रच्नेहरू मेरो नजिकै छन्; तर तिनीहरू तपाईंको व्यवस्थाबाट टाढा छन्।
151हे याहवेह, अझै पनि तपाईं नजिकै हुनुहुन्छ; र तपाईंका सबै आज्ञाहरू सत्य छन्।
152धेरै अगिदेखि नै मैले तपाईंका कानुनहरूबाट सिकेको छु, कि तपाईंले तिनीहरूलाई सदाकालको निम्ति स्थापित गर्नुभएको छ।
153मेरो दुःखलाई हेर्नुहोस्, र मलाई छुटकारा दिनुहोस्; किनकि मैले तपाईंको व्यवस्थालाई बिर्सेको छैनँ।
154मेरो पक्षमा बोल्नुहोस्, र मलाई उद्धार गर्नुहोस्; तपाईंको प्रतिज्ञाअनुसार मेरो जीवनको रक्षा गर्नुहोस्!
155दुष्टहरूदेखि मुक्ति टाढा छ; किनकि तिनीहरूले तपाईंका उर्दीहरूको खोजी गर्दैनन्।
156हे याहवेह, तपाईंको कृपा महान् छन्; तपाईंका नियमअनुसार मेरो जीवनको रक्षा गर्नुहोस्!
157मलाई सताउने मेरा वैरीहरू धेरै छन्; तर म तपाईंका कानुनहरूबाट तर्केको छैनँ।
158विश्वासघातीहरूलाई म घृणाको दृष्टिले हेर्छु; किनकि तिनीहरूले तपाईंको वचन पालन गर्दैनन्।
159हेर्नुहोस्, म कसरी तपाईंका विधिहरूलाई प्रेम गर्दछु; हे याहवेह, तपाईंको अचुक प्रेमअनुसार मेरो जीवनको रक्षा गर्नुहोस्!
160तपाईंका सम्पूर्ण वचनहरू सत्य छन्; तपाईंका सबै धार्मिक नियमहरू अनन्तका छन्।
161शासकहरूले कारणविना मलाई खेदो गर्दछन्; तर मेरो हृदयले तपाईंको वचनको भय मान्दछ।
162जसरी लुटको ठूलो धन पाउने व्यक्ति रमाउँछ, त्यसरी नै म तपाईंको प्रतिज्ञामा रमाउँदछु।
163म झूटलाई घृणा गर्दछु, र तुच्छ ठान्दछु; तर तपाईंको व्यवस्थालाई म प्रेम गर्दछु।
164तपाईंका धार्मिक नियमहरूको निम्ति दिनमा म सातपल्ट तपाईंको प्रशंसा गर्दछु।
165तपाईंको व्यवस्थालाई प्रेम गर्नेहरूका लागि ठूलो शान्ति हुन्छ, अनि कुनै कुराले तिनीहरूलाई ठेस पुर्याउँदैन।
166हे याहवेह, म तपाईंको मुक्तिको प्रतीक्षा गर्दछु, र तपाईंका आज्ञाहरू पालन गर्दछु।
167म तपाईंका कानुनहरू पालन गर्दछु; किनकि म तिनलाई अत्यन्तै प्रेम गर्दछु।
168तपाईंका विधिहरू र तपाईंका कानुनहरू म पालन गर्दछु; किनकि मेरा सम्पूर्ण आचरणहरू तपाईं जान्नुहुन्छ।
169हे याहवेह, मेरो पुकार तपाईंको सामु पुगोस्; तपाईंको वचनअनुसार मलाई समझशक्ति दिनुहोस्!
170मेरो बिन्ती तपाईंको सामु पुगोस्; तपाईंको प्रतिज्ञाअनुसार मलाई छुटकारा दिनुहोस्!
171मेरा ओठबाट तपाईंको प्रशंसा छचल्किऊन्; किनकि तपाईंले मलाई आफ्ना उर्दीहरू सिकाउनुहुन्छ।
172मेरो जिब्रोले तपाईंका वचनको गीत गाओस्; किनकि तपाईंका सम्पूर्ण आज्ञाहरू धार्मिक छन्।
173तपाईंको हात मलाई सहयोग गर्न तत्पर रहोस्; किनकि मैले तपाईंका विधिहरूलाई चुनेको छु।
174हे याहवेह, म तपाईंको मुक्तिको तिर्सना गर्छु; अनि तपाईंको व्यवस्थाले मलाई हर्षित पार्दछ।
175म जीवित रहूँ, ताकि तपाईंको प्रशंसा गर्न सकूँ; अनि तपाईंका नियमहरूले मलाई थामून्।
176हराएको भेडाजस्तै म बरालिएको छु। आफ्नो सेवकको खोजी गर्नुहोस्; किनकि मैले तपाईंका आज्ञाहरू बिर्सेको छैनँ।