1सोलोमनका यी हितोपदेशहरू यहूदाका राजा हिजकियाका मानिसहरूले नक्कल गरे:
2कुनै कुरा गोप्य राख्दा परमेश्वरको महिमा हुन्छ; कुनै कुरा खोजी निकाल्दा राजाहरूको महिमा हुन्छ,
3जसरी आकाशहरू उच्च छन् र पृथ्वी गहिरो, त्यसरी नै राजाहरूका हृदय बुझ्न सकिँदैन।
4चाँदीबाट अशुद्धता निकालिदेऊ, ताकि त्यसबाट शिल्पकारले कुनै सामान बनाओस्।
5राजाको उपस्थितिबाट दुष्ट अधिकारीहरूलाई निकालिदेऊ, र तिनको सिंहासन धार्मिकतामाथि स्थापित हुनेछ।
6राजाको उपस्थितिमा तिमीले आफूलाई उच्च नपार, र महान् व्यक्तिहरूको बीचमा आफ्नो स्थानको दाबी नगर।
7तिनले तिमीलाई भारदारहरूका सामु अनादर गर्नुभन्दा, तिमीलाई “यहाँ माथितिर आऊ” भनिनुचाहिँ असल हुन्छ। तिमीले आफ्नो आँखाले देखेका कुरा
8झट्टै अदालतमा नलैजाऊ; किनकि अन्त्यमा तिम्रो छिमेकीले तिमीलाई शर्ममा पार्यो भने तिमी के गर्छौ?
9आफ्नो छिमेकीसित बहस गर्दा, अर्को मानिसको गोपनीयतामा विश्वासघात नगर,
10नत्रता त्यो सुन्नेले तिमीलाई शर्ममा पार्नेछ, र तिम्रो बदनाम कहिल्यै मेटिनेछैन।
11ठिकसित बोलिएको वचन चाँदीको डालोमा सुनका स्याउहरूजस्तै हुन्छन्।
12सुन्ने कानलाई बुद्धिमान् मानिसको हप्की सुनका लुर्का अथवा निखुर सुनका गहनाजस्तै हो।
13कटनीको समयमा हिउँको चिसोजस्तै, विश्वासयोग्य दूत उसलाई पठाउनेको निम्ति हुन्छ; उसले आफ्ना मालिकको आत्मालाई उत्साहित तुल्याउँछ।
14झरीविनाका बादल र बतासजस्तै, आफूले नदिएको दानमा धाक लगाउने मानिस हुन्छ।
15धैर्य गर्नाले शासकलाई मनाउन सकिन्छ; र मिठो वचनले हड्डी तोडिदिन सक्छ।
16मह भेट्टायो भने चाहिने जति मात्र खाऊ; धेरै खायौ भने तिमीले बान्ता गर्नेछौ।
17तिम्रो छिमेकीको घरमा कहिलेकाहीँ मात्र जाने गर; घरी-घरी देख्दा त्यसले तिमीलाई घृणा गर्नेछ।
18आफ्नो छिमेकीको विरुद्धमा झूटो साक्षी दिने मानिस मुङ्ग्रो र तरवार वा तीखो काँडजस्तै हो।
19विपत्तिको समयमा विश्वासघाती मानिसमाथि भरोसा गर्नु, भाँचिएको दाँत अथवा भाँचिएको खुट्टाजस्तै हो।
20दुःखी हृदय भएकालाई गीत सुनाइदिने मानिस, जाडोको दिनमा लुगा खोस्ने मानिसजस्तै अथवा घाउमा चूक हालेजस्तै हो।
21यदि तिम्रो शत्रु भोकाएको छ भने त्यसलाई भोजन खान देऊ; यदि त्यो तिर्खाएको छ भने त्यसलाई पानी पिउन देऊ।
22यसो गर्नाले तिमीले त्यसको टाउकोमाथि बलिरहेका कोइलाहरू खन्याउनेछौ; र याहवेहले तिमीलाई पुरस्कार दिनुहुनेछ।
23उत्तरी बतासले अचानक पानी ल्याएजस्तै धूर्त जिब्रोले रिसाएको अनुहारलाई ल्याउँछ।
24कचकचे पत्नीसित एउटै घरमा बस्नुभन्दा घरको कौसीको एउटा कुनामा बस्नु असल हो।
25टाढा देशबाट आएको शुभ समाचार, थाकेको प्राणको लागि चिसो पानीजस्तै हो।
26दुष्ट मानिसको अगि झुक्ने धर्मी मानिस, हिलो पानीको मूल अथवा दूषित कुवाजस्तै हो।
27धेरै मह खानु असल होइन, न त आफ्नै मान खोज्नु सम्मानजनक हो।
28आत्मसंयम नभएका मानिस, पर्खाल भत्काइएको सहरजस्तै हो।