1पक्कै पनि चाँदीको निम्ति खानी हुन्छ, र सुनलाई खारिने ठाँउ हुन्छ।
2फलाम पृथ्वीबाट निकालिन्छ, र धातु गालेर तामा निकालिन्छ।
3मरणशील मानिसले अन्धकारको अन्त्य गर्छ; तिनीहरूले पृथ्वीको अति गहिराइमा र घोर अन्धकारको ठाउँमा धातुको खोजी गर्छन्।
4मानव वासस्थानदेखि टाढा, मानिसहरूका खुट्टाले नटेकेका ठाउँहरूमा सुरुङ खन्छन्; अरू मानिसहरूबाट टाढा डोरीमा झुण्डिन्छन् र हल्लिँदै धातु खनेर निकाल्छन्।
5पृथ्वी, जहाँबाट भोजन निस्केर आउँछ, त्यसभित्र भने आगोले पग्लिरहेको हुन्छ;
6त्यसका चट्टानहरूबाट नीलमणिहरू निस्कन्छन्, र त्यसका धुलोमा सुनका कणहरू हुन्छन्।
7आकाशका शिकारी पक्षीहरूले त्यस गुप्त बाटोलाई जान्दैनन्, कुनै पनि बाजको आँखाले त्यसलाई देखेको हुँदैन।
8जङ्गली पशुहरूले त्यसमा पाइला टेकेका छैनन्, र कुनै सिंहले त्यसमा शिकार गरेको छैन।
9मानिसहरूले चकमके ढुङ्गालाई तिनीहरूका हातले फोर्छन्; र पर्वतहरूलाई फेदैबाट पल्टाइदिन्छन्।
10तिनीहरूले चट्टानभित्रबाट सुरुङ खन्दछन्; तिनीहरूका आँखाले प्रत्येक बहुमूल्य चीजहरू देख्दछन्।
11तिनीहरूले नदीहरूका मुहानहरू खोज्दछन्, र गुप्तमा रहेका कुराहरू ज्योतिमा ल्याउँदछन्।
12तर बुद्धिचाहिँ कहाँ फेला पार्न सकिन्छ? समझशक्तिको बास कहाँ छ?
13मरणशील मानिसले त्यसको मूल्य बुझ्दैन; यसलाई जीवितहरूको देशमा पाउन सकिँदैन।
14महासागरले भन्छ, “त्यो बुद्धि मभित्र छैन”; समुद्रले भन्छ, “त्यो मसित छैन।”
15त्यसलाई अति निखुर सुनले पनि किन्न सकिँदैन; न त त्यसको मूल्य चाँदीमा तौलन सकिन्छ।
16त्यसलाई ओपीरको सुनले समेत किन्न सकिँदैन, बहुमूल्य रत्नहरू अथवा नीलमणि समेत पर्याप्त हुन्न।
17त्यसको तुलना न सुन, न त स्फस्टिकसँग नै गर्न सकिन्छ; न त त्यसलाई सुनको गहनाले किन्न सकिन्छ।
18मुगा र बिल्लौरको त नाम नै नलिए पनि हुन्छ; बुद्धिको मूल्य लालमणिभन्दा माथि हुन्छ।
19कूश देशको पुष्पराजसँग पनि बुद्धिको तुलना गर्न सकिँदैन; बुद्धिलाई निखुर सुनले पनि किन्न सकिँदैन।
20त्यसो भए बुद्धि कहाँबाट आउँछ, र समझशक्तिको बास कहाँ छ?
21त्यसलाई त प्रत्येक जीवित प्राणीहरूका आँखाहरूबाट गुप्तमा राखिएको छ, अनि आकाशमा उड्ने पक्षीहरूबाट पनि त्यसलाई लुकाइएको छ।
22विनाश र मृत्युले भन्छन्, “हाम्रो आफ्नै कानमा केवल यसको हल्ला मात्र पुगेको छ।”
23परमेश्वरले मात्र यसको बाटो बुझ्नुहुन्छ; र त्यो कहाँ बास गर्छ, उहाँलाई मात्र थाहा छ,
24किनकि उहाँले पृथ्वीको अन्तिम भागसम्म देख्नुहुन्छ; र उहाँले आकाशमण्डलमुनिका हरेक कुराहरू निरीक्षण गर्नुहुन्छ।
25जब उहाँले बतासको शक्तिलाई स्थापित गर्नुभयो र बादलमा पानीको मापन गर्नुभयो;
26जब उहाँले वर्षालाई आदेश दिनुभयो, र चट्याङको लागि बाटो तयार पार्नुभयो;
27तब उहाँले बुद्धिलाई हेर्नुभयो र त्यसको मूल्याङ्कन गर्नुभयो; उहाँले त्यसलाई पक्का गर्नुभयो र जाँच्नुभयो।
28अनि परमेश्वरले मानिस जातिलाई भन्नुभयो, “हेर प्रभुको भय नै बुद्धि हो; र दुष्टताबाट अलग रहनु नै समझशक्ति हो।”