1आसापको मस्किल। हे परमेश्वर, किन तपाईंले हामीलाई सधैँका लागि त्याग्नुभएको छ? तपाईंको क्रोध तपाईंका खर्कका भेडाहरूका विरुद्धमा किन दन्कन्छ?
2आफ्ना राष्ट्रलाई सम्झना गर्नुहोस्, जसलाई तपाईंले प्राचीन समयमा किन्नुभएको थियो; जसलाई तपाईंका उत्तराधिकारका प्रजा हुनलाई तपाईंले मोल तिरेर छुटाउनुभयो— सियोन पर्वत, जहाँ तपाईं बास गर्नुहुन्छ।
3आफ्ना कदमहरू यी अनन्त भग्नावशेषतिर बढाउनुहोस्; पवित्रस्थानमा भएका सबै थोक शत्रुहरूले नष्ट पारेका छन्।
4तपाईंले हामीसँग भेट गर्नुभएको ठाउँमा तपाईंका वैरीहरू गर्जेका छन्; तिनीहरूले आफ्ना झण्डाहरू विजयको चिन्हको रूपमा गाडेका छन्।
5झाडीका रूखहरू बन्चरोले काट्दै नष्ट पार्ने मानिसजस्तै तिनीहरू थिए।
6तिनीहरूले ठूलो बन्चरो र घनले बुट्टादार काठहरूलाई चकनाचुर पारे।
7तपाईंका पवित्रस्थानलाई तिनीहरूले आगो लगाए; तपाईंका नामको वासस्थान तिनीहरूले अपवित्र पारे।
8तिनीहरूले आफ्ना मनमा भने, “हामी तिनीहरूलाई पूर्ण रूपले नाश पारौँ!” तिनीहरूले देशमा भएका परमेश्वरका आराधना गरिने हरेक पवित्रस्थान जलाए।
9परमेश्वरबाट हामीले कुनै अलौकिक चिन्हहरू पाएका छैनौँ; अब कोही अगमवक्ता बाँकी रहेनन्, यस्तो हालत कहिलेसम्म रहने हो, सो हामी कसैले जान्दैनौँ।
10हे परमेश्वर, कहिलेसम्म शत्रुहरूले तपाईंको ठट्टा उडाउनेछन्? के वैरीहरूले तपाईंको नामको निन्दा सदासर्वदा गर्नेछन् त?
11किन तपाईं आफ्नो बाहुली, तपाईंको दाहिने हात रोक्नुहुन्छ? हस्तक्षेप गर्नुहोस् र तिनीहरूलाई नष्ट पार्नुहोस्।
12तर परमेश्वर प्राचीन समयदेखि नै मेरा राजा हुनुहुन्छ; उहाँले नै पृथ्वीमा मुक्ति ल्याउनुहुन्छ।
13तपाईंले नै आफ्नो शक्तिद्वारा समुद्रलाई दुई भाग पार्नुभयो; तपाईंले समुद्रको विशाल जन्तुहरूका टाउकाहरू कुच्याउनुभयो।
14तपाईं नै हो, जसले लिव्यातनको शिर कुच्याउनुभयो; र त्यसलाई मरुभूमिका पशुहरूलाई आहाराको निम्ति दिनुभयो।
15तपाईंले छहरा र नदीनालाका मूल फुटाइदिनुभयो; तपाईंले अटुट बगिरहने नदीहरूलाई सुकाइदिनुभयो।
16दिन तपाईंको हो, र रात पनि तपाईंकै हो; तपाईंले नै सूर्य र चन्द्र स्थापित गर्नुभएको हो।
17तपाईं नै हो, जसले पृथ्वीका सबै सिमानाहरू बनाउनुभयो; तपाईंले ग्रीष्म ऋतु र शिशिर ऋतु दुवैलाई बनाउनुभयो।
18हे याहवेह, तपाईंलाई शत्रुहरूले कसरी खिसी गर्थे, सम्झनुहोस्; र मूर्खहरूले कसरी तपाईंका नामको गिल्ला गर्थे।
19आफ्नो ढुकुरको प्राण जङ्गली जनावरहरूका हातमा नसुम्पनुहोस्; आफ्ना पीडित मानिसहरूका प्राणलाई सदाकाल नभुल्नुहोस्।
20तपाईंका करार सम्झनुहोस्; किनकि देशका अँध्यारा ठाउँहरू हिंसाले भरिएका छन्।
21थिचोमिचोमा परेकाहरू लाजमा परेर पछि नहटून्; पीडित र अभावमा हुनेहरूले तपाईंको नामको प्रशंसा गरून्।
22हे परमेश्वर, उठ्नुहोस्, र आफ्नो पक्षमा लड्नुहोस्; मूर्खहरूले कसरी दिनभरि नै तपाईंको ठट्टा गर्दछन्, सो कुरा सम्झनुहोस्।
23तपाईंका विरोधीहरूको रिसको होहल्ला र तपाईंका शत्रुहरूले गरिरहेका खैलाबैला नभुल्नुहोस्।