1हे याहवेह, मैले तपाईंमा शरण लिएको छु; मलाई कहिल्यै शर्ममा पर्न नदिनुहोस्!
2तपाईंको धार्मिकतामा मलाई उद्धार गर्नुहोस् र छुटकारा दिनुहोस्; तपाईंको कान मतिर फर्काउनुहोस् र मलाई बचाउनुहोस्!
3तपाईं मेरो आश्रयको चट्टान बन्नुहोस्, जहाँ म सधैँ जान सकूँ; मलाई बचाउने आज्ञा दिनुहोस्; किनकि तपाईं मेरो चट्टान र मेरो गढ हुनुहुन्छ।
4हे मेरा परमेश्वर, मलाई दुष्टहरूका हातबाट, अन्यायी र निर्दयी मानिसहरूका पञ्जाबाट छुटाउनुहोस्!
5किनकि हे सार्वभौम याहवेह, तपाईं मेरो आशा हुनुहन्छ; युवाअवस्थादेखि नै तपाईं मेरो शरणस्थान हुनुहुन्छ।
6मैले जन्मदेखि नै तपाईंमाथि भरोसा गरेको छु; मलाई तपाईंले मेरी आमाको गर्भबाट निकाल्नुभएको हो। म तपाईंको निरन्तर प्रशंसा गरिरहनेछु।
7म धेरै जनाको निम्ति चिन्ह भएको छु; तपाईं मेरो बलियो शरणस्थान हुनुहुन्छ।
8मेरो मुख तपाईंको प्रशंसाले भरिएको छ; दिनभरि नै म तपाईंको वैभवता घोषणा गर्दछु।
9मेरो वृद्धावस्थामा मलाई नत्याग्नुहोस्; मलाई मेरो बल घटेको अवस्थामा नत्याग्नुहोस्!
10किनकि मेरा शत्रुहरूले मेरो विरुद्धमा कुरा गर्छन्; अनि मलाई मार्न खोज्नेहरू एकसाथ मिलेर षड्यन्त्र गर्छन्।
11तिनीहरूले भन्छन्, “परमेश्वरले त्यसलाई त्याग्नुभएको छ; त्यसलाई खेदेर पक्रौँ; किनकि त्यसलाई बचाउने कोही छैन।”
12हे मेरा परमेश्वर, मबाट टाढा नहुनुहोस्; हे परमेश्वर, मलाई सहायता गर्न चाँडो आउनुहोस्!
13मलाई दोष लाउनेहरू शर्ममा परेर नाश भइजाऊन्; मलाई हानि पुर्याउन चाहनेहरू लाजमा र अपमानमा परून्।
14तर मचाहिँ तपाईंमा सधैँ आशा गरिरहनेछु; म तपाईंको अझ धेरै प्रशंसा गर्नेछु।
15मेरो मुखले तपाईंका धार्मिक कामहरू र तपाईंका उद्धारको कामहरूको बारेमा दिनभरि नै मानिसहरूलाई भन्नेछु, यद्यपि मलाई तिनको बारेमा सबै कुरा कसरी भन्ने भनेर थाहा छैन।
16हे सार्वभौम याहवेह, म तपाईंका महान् कार्यहरूको घोषणा गर्दै आउनेछु, म तपाईंको धार्मिक कार्यहरूको विषयमा घोषणा गर्नेछु, केवल तपाईंको धार्मिकताको म बयान गर्नेछु।
17हे परमेश्वर, मेरो युवावस्थाका दिनदेखि नै मलाई तपाईंले सिकाउनुभएको छ; र आजको दिनसम्मै म तपाईंका अचम्मका कामहरूको घोषणा गर्दछु।
18हे परमेश्वर, अहिले म वृद्ध भइसकेको छु, र मेरो कपाल फुलिसकेको छ; तबसम्म मलाई नत्याग्नुहोस्, जबसम्म अर्को पुस्तालाई र पछि आउने सबै मानिसहरूलाई तपाईंले गर्नुभएका महान् कामहरू र अचम्मका कुराहरू घोषणा गरी सक्दिनँ।
19हे परमेश्वर, तपाईंका धार्मिकता आकाशसम्मै चुलिएको छ; तपाईंले महान् कामहरू गर्नुभएको छ। हे परमेश्वर, तपाईंजस्तो अरू को छ र?
20यद्यपि तपाईंले मलाई धेरै र तिता कष्टहरू अनुभव गर्न दिनुभयो; तपाईंले मेरो प्राणलाई पुनर्जीवित पार्नुहुनेछ, र पृथ्वीको गहिराइहरूबाट तपाईंले मलाई फेरि माथि ल्याउनुहुनेछ।
21तपाईंले मेरो इज्जत बढाइदिनुहुनेछ, र मलाई फेरि सान्त्वना दिनुहुनेछ।
22हे मेरा परमेश्वर, तपाईं विश्वासयोग्य हुनुभएको कारण म वीणा बजाएर तपाईंको प्रशंसा गर्नेछु; हे इस्राएलका पवित्र परमेश्वर, म सारङ्गी बजाएर तपाईंको प्रशंसा गर्नेछु,
23मेरा ओठहरू हर्षसाथ जयजयकार गर्नेछन्, म तपाईंको प्रशंसा गाउँछु; किनकि मलाई तपाईंले मुक्त गर्नुभएको छ।
24मेरो जिब्रोले तपाईंका धार्मिक कार्यहरूको बारेमा दिनभरि नै मानिसहरूलाई भन्नेछु; किनकि मेरो हानि गर्न चाहनेहरू शर्ममा र अन्योलमा परेका छन्।