1सङ्गीत निर्देशकको निम्ति, दावीदको भजन। हे याहवेह, सम्पूर्ण हृदयले म तपाईंको प्रशंसा गर्नेछु; “देवताहरूका” सामु म तपाईंको प्रशंसाको गीत गाउनेछु।
2म तपाईंको पवित्र मन्दिरतिर फर्केर दण्डवत् गर्नेछु; अनि तपाईंको अचुक प्रेम र विश्वसनीयताको निम्ति तपाईंको नामको प्रशंसा गर्नेछु; किनकि तपाईंले आफ्नो आदेश यति उच्च पार्नुभयो कि, यसले तपाईंको प्रसिद्धिलाई पनि पार गर्दछ।
3जब मैले पुकारेँ, तपाईंले मलाई जवाफ दिनुभयो; तपाईंले मलाई बल दिएर ज्यादै साहसी बनाउनुभयो।
4हे याहवेह, तपाईंका आदेशहरू सुनेर, यस पृथ्वीका सम्पूर्ण राजाहरूले तपाईंको प्रशंसा गरून्।
5तिनीहरूले याहवेहका मार्गहरूको जयजयकार गरून्; किनकि याहवेहको महिमा महान् छ।
6याहवेह उच्चमा हुनुभए तापनि उहाँले नम्रहरूमाथि दयाले हेर्नुहुन्छ; तर अहङ्कारीहरूलाई भने उहाँले टाढैबाट चिन्नुहुन्छ।
7म सङ्कष्टको बीच भएर हिँड्नुपरे तापनि तपाईंले मेरो जीवनको रक्षा गर्नुहुन्छ; मेरा वैरीहरूका क्रोधको विरुद्धमा तपाईंले हात बढाउनुहुन्छ; र तपाईंको दाहिने हातले मलाई बचाउनुहुन्छ।
8याहवेहले मलाई निर्दोष प्रमाणित गर्नुहुनेछ; हे याहवेह, तपाईंको अचुक प्रेम, सदासर्वदा रहिरहन्छ; तपाईंका हातका कामहरूलाई नत्याग्नुहोस्।