1याहवेहको प्रशंसा गर! याहवेहको नामको प्रशंसा गर; हे याहवेहका सेवकहरू हो, उहाँको प्रशंसा गर।
2तिमीहरू, जो याहवेहको भवनमा, हाम्रा परमेश्वरको भवनका चोकहरूमा सेवा गर्दछौ।
3याहवेहको प्रशंसा गर! किनकि याहवेह भलो हुनुहुन्छ; उहाँको नामको गीत गाओ; किनकि त्यो आनन्दमय हुन्छ।
4किनकि याहवेहले याकोबलाई आफ्नो बनाउन, अनि इस्राएललाई आफ्नो बहुमूल्य सम्पत्ति हुनलाई चुन्नुभएको छ।
5म जान्दछु, याहवेह महान् हुनुहुन्छ, र हाम्रा प्रभु सबै देवहरूभन्दा महान् हुनुहुन्छ।
6आकाशमा र पृथ्वीमा, समुद्रहरू अनि तिनका गहिराइमा, याहवेह आफ्नो इच्छाअनुसार गर्नुहुन्छ।
7उहाँले पृथ्वीको छेउबाट बादल उठाउनुहुन्छ; उहाँले वर्षासित बिजुली पठाउनुहुन्छ; र उहाँले आफ्ना भण्डारहरूबाट बतास निकाल्नुहुन्छ।
8उहाँले इजिप्टका मानिस र पशु, दुवैका पहिले जन्मेकाहरूलाई मार्नुभयो।
9हे इजिप्ट, उहाँले तेरो बीचमा, आफ्ना अलौकिक चिन्हहरू र अद्भुत कार्यहरू, फारो र उनका सारा भारदारहरूका विरुद्धमा पठाउनुभयो।
10उहाँले धेरै राष्ट्रहरूलाई नाश गर्नुभयो; र धेरै शक्तिशाली राजाहरूलाई मार्नुभयो—
11एमोरीहरूका राजा सीहोन, बाशानका राजा ओग, र कनानका सबै राजाहरूलाई नष्ट गर्नुभयो—
12अनि तिनीहरूका भूमि पैतृक सम्पत्तिको रूपमा, आफ्ना प्रजा इस्राएललाई उत्तराधिकारको रूपमा दिनुभयो।
13हे याहवेह, तपाईंको नाम सदासर्वदा रहिरहन्छ; हे याहवेह, तपाईंको ख्याति पुस्तौँ-पुस्तासम्म रहिरहन्छ।
14किनकि याहवेहले आफ्ना मानिसहरूलाई निर्दोष प्रमाणित गर्नुहुनेछ, र आफ्ना सेवकहरूमाथि करुणा देखाउनुहुनेछ।
15जाति-जातिहरूका मूर्तिहरू सुन र चाँदी हुन्, ती सबै मानिसहरूका हस्तकला मात्र हुन्।
16तिनीहरूका मुख त छन्, तर बोल्न सक्दैनन्; आँखा त छन्, तर देख्न सक्दैनन्।
17तिनीहरूका कान छन्, तर सुन्न सक्दैनन्; न तिनीहरूको मुखमा सास नै छ।
18मूर्तिहरूलाई बनाउनेहरू पनि तिनीहरूजस्तै हुनेछन्; तिनीहरूमाथि भरोसा गर्नेहरू सबै पनि त्यस्तै हुनेछन्।
19हे सबै इस्राएलका घराना हो, याहवेहलाई प्रशंसा गर; हे हारूनका घराना हो, याहवेहलाई प्रशंसा गर;
20हे लेवीका घराना हो, याहवेहलाई प्रशंसा गर; हे उहाँको डर मान्नेहरू हो, याहवेहलाई प्रशंसा गर।
21सियोनबाट याहवेहलाई प्रशंसा होस्! यरूशलेममा बास गर्नुहुनेको प्रशंसा होस्! याहवेहको प्रशंसा गर!