1दावीदको भजन। याहवेहले मेरा प्रभुलाई भन्नुहुन्छ: “जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रा खुट्टाको पाउदान बनाउँदिनँ, तबसम्म तिमी मेरो दाहिने हातपट्टि बस।”
2याहवेहले सियोनबाट यसो भन्दै आफ्नो महान् पराक्रमको राजदण्ड विस्तार गर्नुहुनेछ, “आफ्ना शत्रुहरूका बीच तपाईंले राज्य गर्नुहुनेछ!”
3तपाईंका युद्धको दिनमा तपाईंका प्रजा राजीखुशीले तयार हुनेछन्। पवित्रताको वैभवमा सुशोभित भई, तपाईंका जवानहरू बिहानीको गर्भबाट निस्केको शीतझैँ तपाईंकहाँ आउनेछन्।
4याहवेहले शपथ खानुभएको छ, र उहाँले आफ्नो करार भङ्ग गर्नुहुनेछैन: “तिमी सदासर्वदाको निम्ति, मल्कीसेदेकको दर्जाबमोजिम पुजारी हौ।”
5प्रभु तिम्रो दाहिने हाततर्फ हुनुहुन्छ; उहाँले आफ्नो क्रोधको दिनमा राजाहरूलाई चकनाचुर पार्नुहुनेछ।
6उहाँले लासको थुप्रो लगाएर राष्ट्रहरूको न्याय गर्नुहुनेछ; अनि पृथ्वीका सबै शासकहरूलाई चकनाचुर पार्नुहुनेछ।
7उहाँले बाटो छेउको खोलाबाट पानी पिउनुहुनेछ; यसरी उहाँले आफ्नो शिर उच्च पार्नुहुनेछ।