1हे मेरा छोराछोरीहरू हो, आफ्नो बुबाको अर्ती सुन, यसमा ध्यान दिएर समझशक्ति प्राप्त गर।
2म तिमीहरूलाई उचित कुरा सिकाउँछु, यसकारण मेरो शिक्षालाई नत्याग!
3किनभने म पनि आफ्नो बुबाको एक मात्र छोरो थिएँ, मेरी आमाको कोमल र प्यारो छोरो थिएँ।
4मेरा बुबाले मलाई यसो भनेर सिकाउनुभयो, “तिम्रो पूरा हृदयले मेरो वचनहरू पक्रिराख, मेरा आज्ञाहरू पालन गर, र तिमी जिउनेछौ।
5बुद्धि प्राप्त गर, समझशक्ति प्राप्त गर; मेरा वचनहरू नबिर्स, र तिनीहरूदेखि तर्किएर नजाऊ।
6बुद्धिलाई नत्याग, र यसले तिमीलाई रक्षा गर्नेछ; यसलाई प्रेम गर, र यसले तिमीलाई पहरा दिनेछ।
7बुद्धि सर्वोच्च हो, यसकारण बुद्धि प्राप्त गर। समझशक्तिको लागि तिमीसित भएका कुनै पनि मूल्य चुकाउनुपरे तापनि यसलाई प्राप्त गर।
8बुद्धिलाई कदर गर, र यसले तिमीलाई उच्च पार्नेछ, यसलाई ग्रहण गर, र यसले तिम्रो आदर गर्नेछ।
9यसले तिम्रो शिरमा शोभायमान माला पहिर्याइदिनेछ, र महिमामय मुकुट प्रदान गर्नेछ।”
10हे मेरो छोराछोरी, सुन; मैले भनेको कुरा स्वीकार गर, र तिम्रो जीवन दीर्घायु हुनेछ।
11म तिमीलाई बुद्धिको मार्ग सिकाउँछु, र तिमीलाई सीधा बाटोमा डोर्याउँछु।
12तिमी हिँड्दा कुनै पनि कुराले तिम्रा पाइलाहरूलाई छेक्नेछैनन्, अनि तिमी दगुर्दा तिमीलाई ठेस लाग्नेछैन।
13अर्तीलाई पक्रिबस, यसलाई जान नदेऊ; यसलाई जोगाइराख; किनकि यो तिम्रो जीवन हो।
14दुष्टको मार्गमा पाइला नटेक अथवा खराब मानिसहरूको चालमा नहिँड।
15त्योदेखि टाढै बस, त्यस बाटोमा नहिँड, त्यसबाट फर्क र आफ्नै बाटो लाग।
16किनकि दुष्टहरू खराब काम नगरी सुत्नै सक्दैनन्; कसैको खराबी नगरेसम्म तिनीहरूलाई निद्रै लाग्दैन।
17तिनीहरूले दुष्टताको रोटी खान्छन् र हिंसाको मद्य पिउँछन्।
18धर्मीको चाल बिहानको पहिलो ज्योतिजस्तै हो, त्यो मध्यदिन नहुन्जेल झन्-झन् चहकिलो हुँदैजान्छ।
19तर दुष्टको चाल घोर अन्धकारजस्तै हो; तिनीहरू कुन कुराले आफ्नो पतन हुँदैछ, सो जान्दैनन्।
20हे मेरो छोराछोरी, मेरो कुरामा ध्यान देऊ; मेरा वचनहरू ध्यानसित सुन।
21ती तिम्रो दृष्टिदेखि अलग हुन नदेऊ; ती तिम्रो हृदयभित्र राख,
22किनकि तिनलाई पाउनेहरूका लागि ती जीवन हुन्, र सारा शरीरको निम्ति स्वास्थ्य हो।
23यी कुराहरूभन्दा बढी आफ्नो हृदयलाई नै सुरक्षित राख; किनकि यो नै सारा जीवनको मूल हो।
24तिम्रो मुखबाट भ्रष्टता टाढै रहोस्, भ्रष्ट कुराकानी तिम्रो ओठदेखि टाढै रहोस्।
25तिम्रा आँखाले सीधा अगिल्तिर हेरोस्, तिम्रो अगिल्तिर सोझै एक टक लगाएर हेरोस्।
26तिम्रा खुट्टाहरूका निम्ति समतल मार्ग बनाऊ, र आफ्ना सबै मार्गहरूमा दृढ होऊ!
27दाहिने अथवा देब्रेतिर नलाग; सबै दुष्ट कुराबाट आफ्ना खुट्टाहरू अलग राख!