1राजा लमूएलका नीतिवचन, जुन तिनका आमाले तिनलाई सिकाएकी थिइन्—एक ईश्वरवाणी।
2हे मेरा छोरा, सुन्! हे मेरा गर्भका छोरा, सुन्! हे मेरो छोरा, प्रार्थनाहरूका जवाफ सुन्!
3तेरो आफ्नो सम्पूर्ण बल स्त्रीहरूलाई दिएर नसक्; तेरो शक्ति तिनीहरूलाई नदे, जसले राजाहरूलाई पतन गराउँछन्।
4यो कुरा राजाहरूका निम्ति होइन, हे लमूएल— राजाहरूले मद्यपान गर्नुहुन्न, शासकहरूले मदिराको लालसा गर्नुहुन्न,
5कतै तिनीहरूले पिएर कानुनलाई बेवास्ता गर्लान्, र थिचोमिचोमा परेकाहरूलाई तिनीहरूका अधिकारबाट वञ्चित गर्लान्।
6तिनीहरूलाई मदिरा दे, जो नष्ट भइरहेका छन्; तिनीहरूलाई मद्यपान दे, जो वेदनामा परेका छन्।
7तिनीहरूले पिऊन् र आफ्नो गरिबी बिर्सून्, अनि आफ्ना वेदना कहिल्यै नसम्झून्।
8आफ्ना निम्ति बोल्न नसक्नेहरूका निम्ति, र दुःख पाएकाहरूका अधिकारको निम्ति बोलिदे।
9आवाज उठा, र ठिकसित न्याय गर्, गरिब र खाँचोमा परेकाहरूको अधिकारको रक्षा गर्!
10असल चरित्र भएकी पत्नी कसले पाउन सक्छ? तिनी त माणिकहरूभन्दा बहुमूल्यकी हुन्छिन्।
11तिनका पतिले तिनीमाथि पूर्ण भरोसा गर्छिन्; र तिनलाई कुनै मूल्यवान् कुराको अभाव हुँदैन।
12तिनले आफ्नो जीवनकालभरि नै खराब कुरा होइन, तर असल कुरा दिन्छिन्।
13तिनले ऊन र सनपाट चुन्छिन्, र इच्छुक हातले काम गर्छिन्।
14व्यापारीका जहाजहरूले जस्तै; तिनले टाढाबाट भोजन ल्याउँछिन्।
15मिरमिरे बिहान नहुँदै तिनी उठ्छिन्, आफ्नो परिवारको निम्ति भोजन जुटाउँछिन्, र आफ्नी सेविकाहरूलाई आ-आफ्नो भाग बाँडिदिन्छिन्।
16तिनले विचार गरेर एउटा जमिन किन्छिन्, र आफ्नो कमाईबाट एउटा दाखबारी लगाउँछिन्।
17तिनले आफ्नो काम जोसका साथ गर्छिन्; आफ्नो कामको निम्ति तिनले आफ्ना पाखुराहरू बलियो पार्छिन्।
18तिनले आफ्नो कारोबारबाट लाभ भएको छ भनी देख्छिन्; र राति तिनको बत्ती निभ्दैन।
19तिनले आफ्नो हातले चर्खा चलाउँछिन्, र आफ्नो औँलाले पिउरी समाउँछिन्।
20तिनले गरिबका निम्ति आफ्नो मुट्ठी खोल्छिन्; र खाँचोमा परेकाहरूको निम्ति सहायताको हात बढाउँछिन्।
21हिउँ पर्दा आफ्नो परिवारको निम्ति तिनी डराउँदिनन्; किनकि तिनीहरू सबैले सिन्दूरे रङ्गको वस्त्र पहिरेका हुन्छन्।
22तिनी आफैँले ओछ्यान ढाक्ने तन्ना बनाउँछिन्; तिनले असल सुती र बैजनी वस्त्र लगाएकी हुन्छिन्।
23उनका पतिलाई सहरको मूलढोकामा आदर गरिन्छ, जहाँ उनी देशका अगुवाहरूका बीचमा बस्छन्।
24तिनले सुती कपडाका वस्त्रहरू बनाउँछिन् र ती बिक्री गर्छिन्; र व्यापारीलाई पटुकाहरू उपलब्ध गराउँछिन्।
25तिनी सामर्थ्य र सम्मानले सुशोभित हुन्छिन्; भविष्यको निम्ति तिनी मुस्कुराउन सक्छिन्।
26तिनी बुद्धिसित बोल्छिन्; अनि तिनको जिब्रोमा विश्वासयोग्य अर्ती पाइन्छ।
27तिनले आफ्नो घरानाको कामधन्धाको हेरविचार गर्छिन्, र आलस्यपनको रोटी खाँदिनन्।
28तिनका छोराछोरीले उठेर तिनलाई धन्यकी भन्छन्, तिनका पतिले पनि यस्तो भन्दै तिनको प्रशंसा गर्छन्:
29“धेरै स्त्रीहरूले असल काम गर्छन्; तर तिनीहरू सबैलाई तिमीले जितेकी छौ।”
30सौन्दर्य भ्रमात्मक हुन्छ, र सुन्दरता उडिजाने हुन्छ; तर याहवेहको डर मान्ने स्त्रीको नै प्रशंसा हुनुपर्छ।
31तिनले कमाएको इनाम तिनलाई नै देऊ; र तिनका कामले सहरको ढोकामा नै तिनलाई प्रशंसा ल्याऊन्।