1धेरै धनसम्पत्तिभन्दा असल नामको इच्छा गर्नु उत्तम हो; सम्मान प्राप्त गर्नु चाँदी र सुनभन्दा असल हो।
2धनी र गरिबमा एउटा कुरा समान छ: याहवेहले नै तिनीहरू सबैलाई बनाउनुभएको हो।
3विवेकशील व्यक्तिले जोखिमलाई देखेर शरण लिन्छ; तर सोझाचाहिँ त्यतैतिर जान्छ, र परिणाम भोग्छ।
4धन, सम्मान र दीर्घायु; नम्रता र याहवेहप्रतिको श्रद्धाका प्रतिफल हुन्।
5दुष्टको बाटोमा काँडा र पासाहरू हुन्छन्; तर जसले आफ्नो प्राणको रक्षा गर्छ, त्यो त्यस्ता कुराहरूदेखि टाढै रहन्छ।
6बालकलाई ठिक बाटोमा हिँड्ने तालिम देऊ; र त्यो वृद्ध भएपछि पनि त्यसबाट तर्केर जानेछैन।
7धनीले गरिबमाथि शासन जमाउँछ; र ऋण लिनेचाहिँ ऋण दिनेको नोकर हुन्छ।
8अन्याय छर्नेले विपत्ति कटनी गर्छ; र त्यसका रिसको लहुरो भाँचिनेछ।
9दयालु मानिस आफू पनि आशिषित हुनेछ; किनकि त्यसले आफ्नो भोजन गरिबहरूसित बाँड्छ।
10गिल्ला गर्नेलाई बाहिर निकालिदेऊ, तब झगडा हराउँछ; कलह र अपमानको पनि अन्त्य हुनेछ।
11जसले शुद्ध हृदय मन पराउँछ, र जसका बोलीवचन मिठो हुन्छ, उसका लागि राजा पनि मित्र हुनेछ।
12याहवेहको दृष्टिले ज्ञानको रक्षा गर्छ, तर विश्वासघातीका वचनहरूलाई उहाँले विफल तुल्याउनुहुन्छ।
13अल्छेले भन्छ, “बाहिर एउटा सिंह छ! सडकमा गएँ भने त्यहीँ मेरो हत्या हुनेछ।”
14व्यभिचारिणी स्त्रीको मुख एक गहिरो खाडल हो; याहवेहको क्रोधमा पर्नेहरू त्यसमा खस्नेछन्।
15बालकको हृदयमा मूर्खता हुन्छ, तर अनुशासनको छडीले उसलाई त्यसबाट टाढो भगाइदिनेछ।
16आफ्नो धन बढाउन गरिबमाथि अत्याचार गर्ने र धनीलाई उपहारहरू दिने, दुवैमाथि दरिद्रता आउँछ।
17बुद्धिमान्का कुराहरू सुन, र त्यसमा ध्यान देऊ; म जे सिकाउँछु, त्यसमा तिम्रो हृदय लगाऊ!
18किनकि ती तिम्रा हृदयमा राख्यौ भने, र आफ्ना ओठमा तयार राख्यौ भने त्यसले तिमीलाई आनन्द दिनेछ।
19तिम्रो भरोसा याहवेहमाथि होस् भनेर यो कुरा आज म तिमीलाई सिकाउँछु, हो, तिमीलाई।
20के मैले तिम्रा लागि तीस वटा भनाइहरू साथमा सल्लाह र ज्ञानका वचनहरू लेखिदिएको छैनँ र?
21आफूलाई पठाउनेलाई तिमीले ठिक जवाफ दिन सक भनेर मैले तिमीलाई सत्य विश्वसनीय वचनहरू सिकाएको होइनँ र?
22असहाय छन् भन्दैमा तिनीहरूलाई शोषण नगर, न त खाँचोमा परेकाहरूलाई न्यायालयमा पेल;
23किनकि तिनीहरूको मुद्दा याहवेहले नै लिनुहुनेछ, र तिनीहरूलाई लुट्नेहरूलाई उहाँले पनि लुट्नुहुनेछ।
24रिसाहा मानिसलाई मित्र नबनाऊ; झट्टै रिसाउनेहरूसित सङ्गत नगर,
25नत्रता त्यसको बानी तिमीले सिक्छौ र आफूलाई पासोमा पार्छौ।
26बन्धकमा आफ्नो हात नहाल, अथवा अर्काको ऋणको जमानी नबस;
27यदि तिमीसित तिर्ने साधन छैन भने, तिमी सुतेको तिम्रो आफ्नै ओछ्यानसमेत खोसिनेछ।
28प्राचीन साँधसिमानाको ढुङ्गो नहटाऊ, जो तिम्रा पुर्खाहरूले खडा गरेका हुन्।
29के तिमीले आफ्नो काममा निपूर्ण मानिस देखेका छौ? तिनीहरूले राजाहरूका सामु सेवा गर्नेछन्, तिनीहरूले तल्लो तहका अधिकारीहरूको सेवा गर्नेछैनन्।