1सोलोमनका हितोपदेश: बुद्धिमान् छोराछोरीले आफ्ना बुबालाई खुशी तुल्याउँछन्, तर मूर्ख छोराछोरीले आफ्नी आमालाई पिरोल्छन्।
2अन्यायसँग कमाएको धन केही मूल्यको हुँदैन, तर धार्मिकताले मृत्युबाट छुटाउँछ।
3याहवेहले धर्मीहरूलाई भोकै राख्नुहुन्न; तर उहाँले दुष्टको लालसालाई विफल पार्नुहुन्छ।
4अल्छी हातहरूले मानिसलाई गरिब बनाउँछन्, तर परिश्रमी हातहरूले सम्पत्ति आर्जन गर्छन्।
5ग्रीष्म ऋतुमा अन्नको प्रबन्ध गर्ने छोराछोरी बुद्धिमान् हुन्; तर कटनीको समयमा सुत्ने छोराछोरी शर्म लाग्दा हुन्।
6धर्मीको शिरमाथि आशिष्हरूका मुकुट रहन्छन्, तर दुष्ट मानिसको मुखमा हिंसा लुकेको हुन्छ।
7धर्मीको नाम आशिष्मा प्रयोग गरिन्छ, तर दुष्टको नामचाहिँ कुहिएर जानेछ।
8हृदयमा बुद्धिमान् हुनेहरूले आज्ञाहरू ग्रहण गर्छन्, तर बकबके मूर्खको विनाश हुन्छ।
9इमानदार मानिस निर्धक्क भई जिउँछ; तर टेढो मार्गमा हिँड्ने पक्राउ पर्नेछ।
10कपटपूर्ण आँखा झिम्काउनेले शोक ल्याउँछ; अनि बकबक गर्ने मूर्ख सर्वनाशमा पुग्छ।
11धर्मीको मुख जीवनको फोहोरा हो, तर दुष्टको मुखमा हिंसा लुकेको हुन्छ।
12घृणाले फाटो उब्जाउँछ; तर प्रेमले सबै अपराधहरू ढाक्दछ।
13समझदार व्यक्तिका ओठमा बुद्धिका कुरा पाइन्छ; तर विवेकहीनहरूका पिठिउँमा त छडी पर्छ।
14बुद्धिमान् मानिसहरूले ज्ञान सञ्चय गर्छन्; तर मूर्खको मुखले विनाश निम्त्याउँछ।
15धनीको धन नै तिनीहरूका किल्ला भएको सहर हो, तर दरिद्रता गरिबहरूको विनाश हो।
16धर्मीको ज्याला तिनीहरूको जीवन हो, तर दुष्टको कमाइ पाप र मृत्यु हो।
17अनुशासन पालन गर्ने जीवनको बाटोमा जान्छ, तर जसले सुधारलाई बेवास्ता गर्छ, त्यसले अरूलाई पथभ्रष्ट पार्छ।
18जसले आफूमा घृणा लुकाएर राख्छ, उसको जिब्रो छली हुन्छ र जसले निन्दा फैलाउँछ, त्यो मूर्ख हो।
19जब बढ्ता बोलिन्छ, पापले बढी स्थान पाउँछ; तर बुद्धिमान्ले आफ्नो जिब्रोमा लगाम लगाउँछ।
20धर्मीको जिब्रो निखुर चाँदी हो; तर दुष्टको हृदय भने केही मूल्यको हुँदैन।
21धर्मीको ओठले धेरैलाई उत्साह दिन्छ, तर मूर्खहरू विवेकको अभावले मर्छन्।
22याहवेहको आशिष्ले धनसम्पत्ति ल्याउँछ; अनि उहाँले यसमा दुःख थप्नुहुन्न।
23मूर्खहरू दुष्ट चालमा आनन्दित हुन्छन्, तर समझशक्ति भएको मानिस बुद्धिमा प्रसन्न हुन्छ।
24तिनीहरूलाई त्रसित बनाउने कुरा नै दुष्टमाथि आइपर्नेछ; धर्मीले जे इच्छा गर्छ, त्यो पूरा गरिनेछ।
25आँधीबेहरी आएपछि दुष्टहरू सोहोरिएर गइहाल्छन्; तर धर्मीचाहिँ अन्त्यसम्मै स्थिर रहन्छन्।
26दाँतलाई सिर्का र आँखालाई धुवाँजस्तै, अल्छे पनि त्यसलाई पठाउनेको निम्ति त्यस्तै हुन्।
27याहवेहप्रति गरिएको श्रद्धाले जीवनको आयु लामो पार्छ; तर दुष्टका आयुचाहिँ घटाइन्छ,
28धर्मीका आशा आनन्दमय हुन्छ; तर दुष्टहरूको आशा पूरा हुनेछैन।
29याहवेहको मार्ग धर्मीहरूको निम्ति शरणस्थान हो; तर दुष्ट काम गर्नेहरूको निम्ति त्यो विनाश हो।
30धर्मी कहिल्यै उखेलिनेछैन; तर दुष्ट पृथ्वीमा स्थिर रहनेछैन।
31धर्मीको मुखबाट बुद्धिका कुरा निस्किन्छ, तर भड्काउने जिब्रो काटिनेछ।
32धर्मीका ओठले उचित कुरा जान्दछन्; तर दुष्टको मुखले टेढामेढा कुराहरू मात्र जान्दछ।