1तब इयोबले जवाफ दिए:
2“तपाईंले शक्तिहीनहरूलाई कसरी सहायता गर्नुभयो! तपाईंले कमजोर पाखुरालाई कसरी बचाउनुभयो!
3बुद्धिहीन मानिसलाई तपाईंले कस्तो सल्लाह दिनुभयो! अनि तपाईंले कस्तो महान् अन्तर्ज्ञान देखाउनुभयो!
4तपाईंलाई कसले यी शब्दहरू उच्चारण गर्न सघाए? अनि तपाईंको मुखबाट कसको आत्मा बोल्यो?
5“मरेकाहरू र पानीमुनि रहेकाहरू र त्यहाँ बास गर्नेहरू सबै गहिरो वेदनामा छन्।
6मृत-लोक परमेश्वरको सामु नाङ्गो छ; र विनाश छर्लङ्गै भएको छ।
7परमेश्वरले उत्तरको आकाशलाई रित्तो अन्तरिक्षमा फैलाउनुहुन्छ; उहाँले पृथ्वीलाई शून्यतामा झुण्ड्याउनुहुन्छ।
8उहाँले पानीलाई आफ्नो बादलमा बेह्रेर राख्नुहुन्छ; तापनि त्यसको गह्रुँङ्गो भारले गर्दा बादल फुट्दैन।
9उहाँले आफ्नो बादल फिँजाएर पूर्णिमाको चन्द्रमाको मुहारलाई ढाक्नुहुन्छ।
10उज्यालो र अँध्यारोको बीचको सिमाना तोक्न उहाँले समुद्रको सतहमा क्षितिजलाई चिन्ह बनाउनुभएको छ।
11उहाँको हप्कीमा आकाशका खम्बाहरू त्रासले काँप्छन्।
12उहाँले आफ्नो शक्तिद्वारा समुद्रलाई मन्थन गर्नुभयो; उहाँले आफ्नो बुद्धिद्वारा राहाबलाई टुक्रा-टुक्रा पार्नुभयो।
13उहाँको सासद्वारा आकाश स्वच्छ भयो; बेगले भाग्दै गरेको सर्पलाई उहाँको हातले छेड्नुभयो।
14यी सबै त उहाँका कामहरूको एक झलक मात्र हुन्; हामी उहाँका कामको कानेखुसी मात्र सुन्छौँ! त्यसो भए उहाँको शक्तिको गर्जन कसले बुझ्न सक्छ र?”