1मलाई सास फेर्न गाह्रो परेको छ; मेरा दिनहरू घटाइएका छन्, चिहान मेरो पर्खाइमा छ।
2साँच्चै, ठट्टा गर्नेहरूले मलाई घेरेका छन्; मेरा आँखाहरूले तिनीहरूका ठट्टामाथि टुलुटुलु हेर्नुपरेको छ।
3“हे परमेश्वर, तपाईंले माग गर्नुभएको धरौटी मलाई दिनुहोस्। मेरो निम्ति कसले जमानी बसिदेला र?
4तपाईंले तिनीहरूको बुझ्ने दिमागलाई बन्द गरिदिनुभएको छ; यसकारण तपाईंले तिनीहरूलाई विजयी हुन दिनुहुनेछैन।
5यदि कसैले आफ्नो फाइदाको निम्ति आफ्ना मित्रहरूलाई धोका दिन्छ भने, तिनीहरूका छोराछोरीका आँखाहरू कमजोर हुन्छन्।
6“परमेश्वरले मलाई हरेकको निम्ति एउटा उखान बनाउनुभएको छ, त्यो मानिस जसको अनुहारमा मानिसहरूले थुक्छन्।
7मेरा आँखा शोकले गर्दा धमिला भएका छन्; मेरो सम्पूर्ण शरीर केवल एउटा छायाजस्तै मात्र छ।
8धर्मी मानिसहरू मेरो यस्तो हालत देखेर तीन छक्क परेका छन्; निर्दोष मानिसहरू ईश्वरहीनहरूको विरुद्धमा उठेका छन्।
9तापनि धर्मी मानिसहरू आफ्नै मार्गमा अटल रहनेछन्; र निर्दोष हात हुनेहरू अझ बलियो हुँदै जानेछन्।
10“तर तपाईंहरू सबै आएर फेरि कोसिस गर्नुहोस्! म तपाईंहरूको माझमा एउटै बुद्धिमान् मानिस भेट्टाउँदिनँ।
11मेरा दिनहरू बितेर गए, मेरा योजनाहरू चकनाचुर भए; अझ मेरो हृदयका इच्छाहरू पनि हराएर गए।
12तिनीहरूले रातलाई दिन भन्छन्; अन्धकार हुन लाग्दा ज्योति नजिकै हुन्छ भन्दछन्।
13यदि मैले आशा गरेको घर भनेकै चिहान हो भने यदि मैले अन्धकारमा आफ्नो ओछ्यान लगाएँ भने,
14यदि मैले चिहानलाई, ‘तपाईं मेरो पिता हुनुहुन्छ,’ र किरालाई, ‘मेरी आमा’ अथवा ‘मेरी दिदीबहिनी,’ भन्छु भनेँ,
15त्यसो भए मेरो आशा खोइ कहाँ छ त? मेरो निम्ति केही आशा छ भनेर कसले देख्न सक्छ त?
16के मेरो त्यो आशा तल मृत्युको ढोकासम्म जानेछ र? के हामी एकसाथ धुलोमा जानेछौँ र?”