1यो आमोजका छोरा यशैयाले यहूदाका राजाहरू उज्जियाह, योताम, आहाज र हिजकियाका शासनकालमा यहूदा र यरूशलेमको विषयमा देखेको दर्शन हो।
2हे आकाश, सुन्! हे पृथ्वी, ध्यान दिएर सुन्! किनकि याहवेह भन्नुहुन्छ: “मैले छोराछोरीहरूलाई पालनपोषण गरेर हुर्काएँ, तर तिनीहरूले मेरो विरुद्धमा विद्रोह गरेका छन्।
3गोरुले आफ्नो मालिकलाई चिन्छ, र गधाले आफ्नो मालिकको डुँड चिन्छ। तर इस्राएलले चिन्दैन, मेरा मानिसहरूले बुझ्दैनन्।”
4धिक्कार, त्यस पापी जाति, अपराधले लादिएको जाति, दुष्ट काम गर्नेहरूका सन्तान, भ्रष्ट भएका सन्तान! तिनीहरूले याहवेहलाई त्यागेका छन्; तिनीहरूले इस्राएलका पवित्र परमेश्वरलाई लत्याएका छन्, र उहाँतिर आफ्ना पिठिउँ फर्काएका छन्।
5तिमीहरू किन अझै पिटाइ खान्छौ? तिमीहरू किन बागी भइरहन्छौ? तिमीहरूका शिरभरि चोट-चोटै छ; तिमीहरूका मुटुभरि पीडा छ।
6खुट्टाको पैतालादेखि शिरसम्म स्वस्थता छैन। चोटहरू र निलो डामहरू, र उदाङ्गो घाउहरू छन्; ती घाउहरू सफा नगरिएका र पट्टी नबाँधिएका अथवा तेलले सेकिएका छैनन्।
7तिमीहरूको देश उजाड छ, तिमीहरूका सहरहरू आगोले जलाइएका छन्; तिमीहरूका खेतहरू तिमीहरूकै सामु परदेशीहरूले उजाड पारिदिएका छन्; अपरिचितहरूले नाश पारिदिएझैँ, त्यो उजाड भएको छ।
8सियोनकी छोरी दाखबारीको छाप्रोजस्तै, काँक्राबारीमा भएको छाप्रोजस्तै, घेरा हालिएको सहरजस्तै त्यागिएकी छ।
9यदि सेनाहरूका याहवेहले हामी कसैलाई बचाएर नराख्नुभएको भए हामी सदोमझैँ हुनेथियौँ, हामी गमोराजस्ता बन्नेथियौँ।
10हे सदोमका शासकहरू हो, याहवेहको वचन सुन; हे गमोराका मानिसहरू हो, हाम्रा परमेश्वरको व्यवस्था ध्यानसित सुन!
11याहवेह भन्नुहुन्छ, “तिमीहरूका बलिदानहरूको थुप्रो मेरा निम्ति के कामको छ र? मसित चाहिने भन्दा बढी साँढे र मोटा-मोटा पशुहरूका होमबलि छन्। साँढेहरू, थुमाहरू र बाख्राहरूको रगतले म प्रसन्न हुँदिनँ।
12जब तिमीहरू मसँग भेट्नलाई आउँछौ, के तिमीहरूलाई कसैले मेरा आँगनहरू खुट्टाले कुल्चीमिल्ची गर्न भनेको छ र?
13व्यर्थैका बलिहरू ल्याउन बन्द गर! तिमीहरूका धूप त मेरा निम्ति घृणित छ। औँसी, शब्बाथ दिन र सभाहरूका साथसाथै तिमीहरूका खराब जमघटहरू म सहन सक्दिनँ।
14तिमीहरूका औँसीका चाडहरू, र तिमीहरूले ठहराएका चाडहरूलाई म मेरो सारा प्राणले घृणा गर्छु। ती मेरा निम्ति बोझ भएका छन्; ती बोक्दा-बोक्दै म थकित भइसकेको छु।
15तिमीहरूले प्रार्थनामा आफ्ना हात फैलाउँदा, म आफ्ना आँखाहरू तिमीहरूबाट लुकाउनेछु; तिमीहरूले धेरै प्रार्थना गरे तापनि म त्यो सुन्नेछैनँ। तिमीहरूका हातहरू रगतले भरिएका छन्!
16आफूलाई धोएर शुद्ध पार। तिमीहरूका दुष्ट कर्महरू मेरो दृष्टिबाट टाढा लैजाओ; खराबी गर्न छोड।
17भलाइ गर्न सिक; न्याय खोज। थिचोमिचोमा परेकाहरूलाई ढाडस देओ। अनाथहरूका पक्षमा बोल; विधवाहरूको मुद्दा लडिदेओ।”
18याहवेह भन्नुहुन्छ, “अब आओ, हामी एकसाथ विचार गरौँ। तिमीहरूका पाप सिन्दूरे रङ्गका भए तापनि ती हिउँजस्तै सेता हुनेछन्; ती गाढा राता रङ्गका भए तापनि ती ऊनजस्तै सेता हुनेछन्।
19यदि तिमीहरू इच्छुक र आज्ञाकारी भयौ भने, तिमीहरूले देशका सर्वोत्तम कुराहरू खानेछौ;
20तर यदि तिमीहरूले विरोध गर्यौ र बागी भयौ भने, तिमीहरू तरवारले काटिनेछौ।” किनकि याहवेहले बोल्नुभएको छ।
21हेर, एउटा विश्वासयोग्य सहर कसरी वेश्याजस्तै भयो! कुनै समय त्यो न्यायपूर्ण थियो; धार्मिकताले त्यसमा वास गर्थ्यो, तर अहिले हत्याराहरूले वास गर्छन्!
22तेरो चाँदी फोहोर भएको छ, तेरो उत्तम दाखमद्यमा पानी मिसाइएको छ।
23तेरा शासकहरू बागी, र चोरहरूका साथीहरू बनेका छन्; तिनीहरू सबैले घूस मन पराउँछन्, र उपहारहरूको पछि लाग्छन्। तिनीहरूले अनाथहरूका पक्ष लिदैनन्; विधवाहरूको उजुर तिनीहरूकहाँ पुग्दैन।
24यसकारण प्रभु, सेनाहरूका याहवेह इस्राएलका सर्वशक्तिमान् परमेश्वर घोषणा गर्नुहुन्छ: “आह! म आफ्ना शत्रुहरूमाथि क्रोध खन्याउनेछु। आफ्ना शत्रुहरूसँग म आफैँ बदला लिनेछु।
25म आफ्नो हात तेरो विरुद्ध फर्काउनेछु; म तेरो फोहोरलाई पूर्ण रूपमा सफा गर्नेछु, र तेरा सबै अशुद्धताहरूलाई हटाइदिनेछु।
26म तेरा न्यायकर्ताहरूलाई पुरानो समयमा भएकाजस्तै, तेरा सल्लाहकारहरूलाई सुरुका समयमा भएकाजस्तै फेरि स्थापित गर्नेछु। त्यसपछि तँ धार्मिकताको सहर; एउटा विश्वासयोग्य सहर भनिनेछस्।”
27सियोन न्यायसित छुटाइनेछ। त्यहाँका पश्चात्ताप गर्नेहरू धार्मिकतासँगै छुटाइनेछन्।
28तर बागीहरू र पापीहरू दुवै तोडिनेछन्; याहवेहलाई त्याग्नेहरू नाश हुनेछन्।
29“तिमीहरूले आनन्द मानेका ती फलाँटका पवित्र रूखहरूको कारण तिमीहरू लज्जित हुनेछौ; तिमीहरूले रोजेका ती बगैँचाहरूको कारण नै तिमीहरू अपमानित हुनेछौ।
30तिमीहरू पात झर्दै गरेका फलाँटका रूखहरूजस्तै, पानी नभएका बगैँचाजस्तै हुनेछौ।
31शक्तिशाली मानिस सुकेको दाउरा र त्यसको काम झिल्काजस्तै हुनेछ; ती दुवै एकैसाथ जल्नेछन्, त्यो आगोलाई निभाउने कोही हुनेछैन।”