1अब विश्वासचाहिँ हामीले गरेको आशाको निश्चयता र हामीले नदेखेका कुराको दृढ भरोसा हो।
2यही विश्वासद्वारा प्राचीन कालका मानिसहरूको प्रशंसा भएको थियो।
3विश्वासैद्वारा हामी बुझ्दछौँ, कि परमेश्वरको वचनले विश्व बनियो, र देखिने कुराहरू नदेखिने थोकहरूबाट बनिए।
4विश्वासैद्वारा हाबिलले परमेश्वरलाई कयिनले भन्दा उत्तम बलिदान चढाए। परमेश्वरले तिनको भेटीको विषयमा असल कुरा भन्नुहुँदा विश्वासैबाट तिनले धर्मी मानिस हुन् भन्ने प्रशंसा पाए। तिनी मरेर गए, तापनि तिनी विश्वासैद्वारा अझ बोलिरहेका छन्।
5विश्वासद्वारा नै हनोक मृत्युको अनुभव नगरी उठाइए: “अनि तिनी फेला परेनन्; किनकि परमेश्वरले नै तिनलाई उठाइलैजानुभयो;” किनकि तिनी उठाइनुअगि नै तिनले परमेश्वरलाई खुशी पार्ने व्यक्तिको रूपमा प्रशंसा पाएका थिए।
6विश्वासविना परमेश्वरलाई खुशी पार्न असम्भव छ; किनकि जो परमेश्वरकहाँ आउँछ, त्यसले उहाँ हुनुहुन्छ अनि उहाँलाई खोज्नेहरूलाई पुरस्कार दिनुहुन्छ भनी विश्वास गर्नुपर्छ।
7विश्वासैद्वारा नोआले नदेखेका कुराहरूको विषयमा चेतावनी पाउँदा आफ्नो परिवारलाई बचाउनको लागि आदरको भयमा एउटा जहाज बनाए। आफ्नो विश्वासद्वारा तिनले संसारलाई दोषी ठहराए, र विश्वासैद्वारा धार्मिकताका उत्तराधिकारी भए।
8विश्वासैद्वारा अब्राहामले उनलाई जानू भनेको ठाउँमा आज्ञाकारी भएर गए, जुन ठाउँ पछिबाट मात्रै उत्तराधिकारको रूपमा प्राप्त हुनेवाला थियो। यद्यपि तिनी कहाँ जानुपर्ने हो, सो थाहा थिएन।
9विश्वासैद्वारा परदेशीझैँ भएर तिनी प्रतिज्ञाको देशमा रहे, तिनी इसहाक र याकोबसँग पालमा बसे; जो तिनीजस्तै त्यही प्रतिज्ञाका उत्तराधिकारीहरू थिए।
10किनकि तिनले स्थायी जग भएको सहरलाई हेरिरहेका थिए, जसको रचनाकार र निर्माता परमेश्वर नै हुनुहुन्छ।
11साराको गर्भधारण गर्ने उमेर गइसकेको भए तापनि विश्वासैद्वारा तिनले गर्भधारण गर्ने क्षमता प्राप्त गरिन्; किनकि प्रतिज्ञा दिनुहुने विश्वासयोग्य हुनुहुन्छ भनी तिनले विश्वास गरिन्।
12यसरी नै यी एक जना मानिस, जो मरेतुल्य भए तापनि यिनैबाट आकाशका अनगन्ती ताराहरू र समुद्रका किनारका बालुवाझैँ असंख्य सन्तान भए।
13यी सबै मानिसहरू मृत्युसम्म विश्वासमै बाँचेका थिए। तिनीहरूले प्रतिज्ञा गरिएका कुराहरू पाएनन्, तर तिनीहरूले टाढैबाट देखेर स्वागत गरे; किनकि तिनीहरू यस संसारमा बिराना र परदेशी हुन् भनी तिनीहरूले मानिलिए।
14यस्ता कुराहरू गर्ने मानिसहरूले यो देखाउँछन्, कि तिनीहरूले त्यो देशको खोजी गरिरहेका छन्, जो तिनीहरूको आफ्नै थियो।
15यदि तिनीहरूले आफूले छोडेर आएको देश नै सम्झिरहेको भए, तिनीहरूलाई फर्किजाने मौका मिल्नेथियो।
16यसको सट्टामा तिनीहरूले त अझ उत्तम देश अर्थात् स्वर्गीय देशको प्रतीक्षा गरिरहेका थिए। यसकारण परमेश्वर तिनीहरूका परमेश्वर हुँ भन्न शर्माउनुभएन; किनकि उहाँले तिनीहरूका निम्ति एउटा सहर तयार गरिदिनुभएको छ।
17विश्वासैद्वारा अब्राहामले, तिनको परमेश्वरद्वारा जाँच हुँदा इसहाकलाई बलिदानको रूपमा चढाइहालेका थिए। अब्राहाम, जसले प्रतिज्ञालाई अँगालेका थिए, तिनैले आफ्नो एउटै पुत्रलाई बलिदान चढाउन तयार भएका थिए;
18यद्यपि परमेश्वरले तिनलाई भन्नुभएको थियो, “इसहाकबाट नै तेरो वंशको नाम रहनेछ।”
19परमेश्वरले मरेकाहरूलाई पनि जीवित पार्न सक्नुहुन्छ भनी अब्राहामले तर्क गरेर सोचे, र एक अर्थमा इसहाकलाई मृत्युबाट फिर्ता पाए।
20विश्वासैद्वारा इसहाकले याकोब र एसावलाई तिनीहरूका भविष्यबारे आशिष् दिए।
21विश्वासैद्वारा याकोबले आफू मर्ने बेलामा र आफ्नो लहुरोको टुप्पोमा अडेस लागेर योसेफका दुवै छोरालाई आशीर्वाद दिए।
22विश्वासैद्वारा योसेफले पनि आफ्नो अन्त्य नजिक आइपुग्दा इस्राएलीहरू इजिप्टबाट निस्केर आउने कुरा गरे, र आफ्ना हड्डीहरू गाड्ने विषयमा निर्देशन दिए।
23विश्वासैद्वारा मोशाका आमाबुबाले तिनी जन्मेपछि तीन महिनासम्म लुकाइ राखे; किनकि तिनीहरूले बालक असाधारण भएको देखे, र तिनीहरूले राजाको हुकुमदेखि डर मानेनन्।
24विश्वासैद्वारा मोशाले, जवान भएपछि फारोकी छोरीको छोरा कहलाइन अस्वीकार गरे।
25पापको सुख केही समयसम्म भोग्नुभन्दा परमेश्वरका जनहरूसित थिचोमिचोमा पर्न तिनी राजी भए।
26इजिप्टको धनसम्पत्तिभन्दा ख्रीष्टको निम्ति निन्दित हुन तिनले बढ्ता मूल्यको सम्झे; किनकि तिनले आफ्नो दृष्टिलाई पछि प्राप्त हुने प्रतिफलतिर लगाएका थिए।
27विश्वासैद्वारा तिनले राजाको रिसको डरै नमानी इजिप्ट देशलाई त्यागे; किनकि अदृश्य हुनुहुने परमेश्वरलाई देखेर तिनी स्थिर रहिरहे।
28पहिले जन्मेकोलाई नाश गर्नेले इस्राएलका पहिले जन्मेकाहरूलाई छुन नपाऊन् भनेर तिनले विश्वासद्वारा निस्तार चाडको विधि पालन गरे र रगतको प्रयोग गरे।
29विश्वासैद्वारा मानिसहरूले लाल समुद्र सुक्खा जमिनझैँ तरे; तर जब इजिप्टियनहरूले त्यसै गर्न खोज्दा, तिनीहरू डुबेर मरे।
30सात दिनसम्म सेनाहरूले यरीहोको परिक्रमा गरेपछि विश्वासैद्वारा पर्खालहरू ढले।
31विश्वासैद्वारा राहाब वेश्या ती अनाज्ञाकारीहरूसित मारिइनन्; किनकि तिनले ती जासुसहरूलाई स्वागत गरेकी थिइन्।
32अनि अझ बढ्ता म के भनूँ? गिदोन, बाराक, शिमशोन, यिप्ता, दावीद, शमूएल र अगमवक्ताहरू यी सबैको विषयमा बयान गरिरहने समय मसित छैनँ।
33उनीहरूले विश्वासैद्वारा राज्यहरू जिते, न्याय दिए, प्रतिज्ञा गरिएका थोकहरू प्राप्त गरे, उनीहरूले सिंहका मुखहरू थुने,
34दन्केको आगोको ज्वालाहरू निभाए, र तरवारको धारबाट उम्के। उनीहरूका कमजोरीहरू शक्तिमा परिवर्तन भए, र उनीहरू लडाइँहरूमा शक्तिशाली भए, र विदेशी सेनाहरूलाई परास्त गरे।
35स्त्रीहरूले आफ्ना प्रिय जनहरूलाई मृत्युबाट फेरि जीवित प्राप्त गरे। अरूहरू सताइए, र अझ उत्तम पुनरुत्थान प्राप्त गर्न सकौँ भनेर छुटकारा पनि अस्वीकार गरे।
36कतिले गिल्ला र कोर्राको सामना गरे, कतिपयहरूचाहिँ साङ्लाले बाँधिएर कैदमा हालिए।
37तिनीहरू ढुङ्गाले हानेर मारिए, करौँतीले दुई फ्याक पारिए, र तिनीहरू तरवारद्वारा मारिए। तिनीहरू भेडा र बाख्राका छाला लगाएर भौँतारिँदै हिँडे; दरिद्रतामा परे, सताइएर दुर्व्यवहारमा परे।
38संसार तिनीहरूका लागि योग्यको थिएन। तिनीहरू पाखापखेरा, गुफाहरू र खाडलहरूभित्र रहँदै मरुभूमि र पहाडहरूमा भौँतारिँदै हिँडे।
39अनि तिनीहरूले आफ्ना विश्वासको निम्ति प्रशंसा पाए, तर प्रतिज्ञा गरिएका थोकहरू भने कसैले पनि पाएनन्।
40परमेश्वरले हाम्रो निम्ति केही उत्तम योजना राख्नुभएको थियो, ताकि हामीहरूसँगै तिनीहरू सिद्ध होऊन्।