1तिमीहरूले यर्दन पार गरेर अधिकार गर्ने देशमा पालन गर्नलाई सिकाउनू भनेर याहवेह तिमीहरूका परमेश्वरले मलाई निर्देशन गर्नुभएका विधि-विधानहरू र उर्दीहरू यिनै हुन्,
2ताकि तिमीहरू, तिमीहरूका सन्तानहरू र तिनीहरूका छोराछोरीहरूले आफू बाँचुन्जेल मैले तिमीहरूलाई दिएका उहाँका सबै उर्दीहरू र आज्ञाहरू पालन गरून्। अनि याहवेह आफ्ना परमेश्वरको डर राखून् र तिनीहरूले लामो जीवन उपभोग गरून्।
3हे इस्राएलीहरू हो, सुन र होसियारीसाथ पालन गर, ताकि तिमीहरूको भलो होस्। याहवेह, तिमीहरूका पितापुर्खाहरूका परमेश्वरले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएझैँ दूध र मह बग्ने देशमा तिमीहरूको वृद्धि होस्।
4हे इस्राएलीहरू हो, सुन! याहवेह हाम्रा परमेश्वर, एक मात्र याहवेह हुनुहुन्छ।
5याहवेह तिमीहरूका परमेश्वरलाई तिमीहरूका सम्पूर्ण हृदयले, सम्पूर्ण प्राणले र सम्पूर्ण बलले प्रेम गर।
6आज मैले तिमीहरूलाई दिएका यी आज्ञाहरू आफ्ना हृदयभित्र राखिराख।
7यी तिमीहरूका छोराछोरीहरूलाई सिकाओ। तिमीहरू घरमा बस्दा, बाटोमा हिँड्दा, ढल्कँदा र उठ्दा यसको बारेमा चर्चा गर।
8यी आज्ञाहरूलाई तिमीहरूका हातमा र निधारमा चिन्हको रूपमा बाँधिराख।
9यी आज्ञाहरूलाई तिमीहरूका घरको ढोकाको चौकसमा र मूलढोकाहरूमा लेखिराख।
10जब याहवेह तिमीहरूका परमेश्वरले तिमीहरू, तिमीहरूका पितापुर्खाहरू अब्राहाम, इसहाक र याकोबसँग शपथ खानुभएको देशमा अर्थात् तिमीहरूले नबनाएका विशाल र सम्पन्न सहरहरू भएको देश तिमीहरूलाई दिनलाई ल्याउनुहुन्छ,
11तब तिमीहरूले प्रबन्ध नगरेका असल कुराहरूले भरिएका घरहरू, तिमीहरूले नखनेका इनारहरू, तिमीहरूले नलगाएका दाखबारीहरू र जैतुनका बारीहरूमा ल्याउनुहुन्छ। जब तिमीहरूले ती खानेछौ र तृप्त हुनेछौ,
12तब तिमीहरूलाई इजिप्टबाट दासत्वको देशबाट निकालेर ल्याउनुहुने याहवेहलाई कहिल्यै पनि नबिर्सनू।
13याहवेह तिमीहरूका परमेश्वरको भय मान्नू। उहाँको मात्र सेवा गर्नू, र उहाँको नाममा मात्र तिमीहरूले शपथ खानू।
14तिमीहरूका वरिपरि भएका मानिसहरूका देवी-देवताहरू अर्थात् अरू देवी-देवताहरूको पछि नलाग्नू;
15किनकि तिमीहरूको बीचमा हुनुभएका याहवेह तिमीहरूका परमेश्वर डाह गर्ने परमेश्वर हुनुहुन्छ। उहाँको रिस तिमीहरूका विरुद्धमा दन्किनेछ, र उहाँले तिमीहरूलाई पृथ्वीबाट नाश पार्नुहुनेछ।
16तिमीहरूले मस्साहमा गरेझैँ याहवेह तिमीहरूका परमेश्वरको परीक्षा नगर्नू।
17याहवेह तिमीहरूका परमेश्वरका आज्ञाहरू र उहाँले तिमीहरूलाई दिनुभएका नीति-नियम र उर्दीहरू होसियारीसाथ पालन गर्नू।
18याहवेहको दृष्टिमा जे ठिक र असल छ, त्यही गर्नू; ताकि तिमीहरूलाई भलो होस्, र याहवेहले तिमीहरूका पितापुर्खाहरूलाई शपथ खाएर प्रतिज्ञा गर्नुभएको उत्तम देशमा तिमीहरूले अधिकार गर्न सक।
19अनि याहवेहले भन्नुभएझैँ तिमीहरूले आफ्ना सामुबाट तिमीहरूका शत्रुहरूलाई धपाउनेछौ।
20भविष्यमा जब तिमीहरूका छोराछोरीले तिमीहरूलाई सोध्नेछन्, “याहवेह हाम्रा परमेश्वरले तपाईंहरूलाई पालन गर्नू भनी दिनुभएका यी नीति-नियमहरू, उर्दीहरू र व्यवस्थाहरूको अर्थ के हो?”
21तब तिनीहरूलाई यसो भन, “हामी इजिप्टमा फारो राजाका दासहरू थियौँ; तर याहवेहका शक्तिशाली हातले हामीलाई इजिप्टबाट निकालेर ल्याउनुभयो।
22हाम्रो आँखाको सामु याहवेहले इजिप्टमा फारो र तिनका सबै घरानामाथि अलौकिक चिन्हहरू, अथवा महान् र डरलाग्दा कामहरू गर्नुभयो।
23तर उहाँले हामीलाई त्यहाँबाट निकालेर हाम्रा पितापुर्खाहरूसँग शपथ खाएर प्रतिज्ञा गर्नुभएको देश दिनलाई यहाँ ल्याउनुभयो।
24याहवेहले हामीलाई यी सबै उर्दीहरू पालन गर्नू र याहवेह हाम्रा परमेश्वरको डर मान्नू भनी आज्ञा दिनुभयो; ताकि त्यसरी नै सधैँभरि उन्नति गर्दै बाँचिरहन सकौँ, जसरी आज हामी समृद्ध छौँ।
25अनि उहाँले आज्ञा गर्नुभएझैँ याहवेह हाम्रा परमेश्वरको सामु यी सबै आज्ञाहरू हामीले होसियारीसाथ पालन गर्यौँ भने त्यो नै हाम्रो धार्मिकता ठहरिनेछ।”